कांग्रेस आन्दोलनमा गएपछि ओलीले बोलाए अकस्मात देउवालाई, के भयो कुराकानी ?

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध देशभरि आन्दोलन चलाउन थालेपछि आत्तिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आइतबार भेटवार्ता भएको कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए ।

ओली र देउवाबीच भएको वार्तामा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफलका लागि बोलाएको जनाइएको छ । प्रधानमन्त्री ओलीले देउवासहित विद्यार्थी संगठनका पदाधिकारीलाई पनि आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा.महतले प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेको जानकारी दिए ।

सभापति देउवाले भने सरकारका कामकारबाही समस्यामुलक भएको उल्लेख गरेका थिए । नेपाली कांग्रेसका सभापति देउवाले सरकारले प्रमुख विपक्षी दलका कुरा नसन्ने, संसदमा पेलेर जान खोज्ने, सहमति र सहकार्यको वातावरण धुमिल्याउँदै आएको जस्ता आरोप ओलीलाई लगाएको डा.महतले बताए ।

डा.महतले सरकारले आफ्ना नेताको नाम मेट्ने कोसिस गरेको, संवैधानिक परिषदका सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विनै संवैधानिक निकायका प्रमुख सिफारिस गरेको र विपक्षीले संसद अवरोध गर्दा गर्दै जबरजस्ती चिकित्सा विधेयक पास गरेकोमा देउवाले आपत्ती जनाएका थिए ।

सभापति देउवाले कम्युनिस्ट सरकारले प्रमुख प्रतिपक्षी दलसँग गरेको व्यवहार र नेविसंघका नेताहरूलाई प्रहरीले गरेको ज्यादतिका विषयमा ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

डा.महतले भने, ‘प्रधानमन्त्रीले भने आफू विधि र प्रकृयामा विश्वास गर्ने मान्छे भएको भन्ने कुरा गर्नुभयो । खासै ठोस कुरा गर्नुभएन ।’

सरकारले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खुलेका अस्पताल विघटन गरेको भन्दै कांग्रेसले संसद अवरूद्धमात्रै हैन ७७ जिल्लामै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

आफूले संसद अवरोध गरिरहँदा बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेपछि सरकारसँग कांग्रेस रूष्ट छ ।

नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । सरकारका गतिविधिको विरोध गर्दै पछिल्लो समय नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ ।

नेविसंघले सरकारविरुद्ध प्रर्दशन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, मसाल जुलुस गर्नेलगायतका विरोध गर्दै आएको छ ।

देउवा बोलेपछि नेविसंघ सभापति नैनसिंह महरले सरकारले नै द्वन्द निम्त्याएको बताएका थिए । उनले नेविसंघ महामन्त्रीलगायत विद्यार्थीको टाउको फुटाइएको भन्दै सरकारले द्वन्द्व निम्त्याएर स्ववियु चुनाव भाँड्ने षड्यन्त्र गरेको आरोप लगाए ।

संयुक्त बैठकपछि ओली र देउवाबीच वान टु वान बैठक पनि भएको थियो । वान टु वानमा समेत कुनै ठोस निष्कर्श ननिस्केको डा.महतले पत्रकारहरूलाई बताएका छन् ।

Published : Sunday, 2019 January 27, 10:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया