गफले देश बन्दैन ओलीजी, काम गर्नुपर्छः गगन थापा

पर्वत । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले संविधान निर्माण, निर्वाचन, संघीयता लगायतका विषय कार्यान्वयन भइसकेको अवस्थामा विकासले गति नलिनु दुखद् भएको बताएका छन् ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङस्थित सूर्यप्रकाश माध्यमिक विद्यालयको उनञ्चालीसौँ वार्षिकोत्सवमा सहभागी हुन आएका नेता थापाले दुई तिहाइको कम्युनिस्ट सरकारले गर्नुपर्ने काम नगरेर अनावश्यक कुरा गरेर जनतालाई छारो हाल्ने काम गरेको आरोप लगाए ।

उनले विकास भनेको गफ लाएर मात्रै नहुने बताए । ‘प्रधानमन्त्री केपी ओलीजीले रेल र पानीजहाजको कुरा गर्नुभएको छ’, थापाले भने, ‘गफ लगाएर मात्रै विकास हुने भए हामी रेल र पानीजहाज उहिल्यै चढिसक्थौं ।’

कांग्रेसका केन्द्रीय सदस्य थापाले गाउँगाउँमा खनिएका सडकमा जाने बस र ट्रक गाउँबाट फर्किंदा गाउँका उत्पादनले भरिएर फर्किने अवस्था नआउँदासम्म देशको विकास नहुने बताए ।

थापाले शिक्षा र स्वास्थ्य विकासको मुख्य शर्त भएको औंल्याए । ‘विकसित देशहरुमा यो विषय त्यहाँको मुख्य एजेण्डा बन्छ’, उनले भने, ‘हाम्रो देशमा अहिले बल्ल स्वास्थ्य र शिक्षाको विषयमा बहस सुरु हुन थालेको छ ।’

आफू स्वास्थ्यमन्त्री भएको समयमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रम झुपडी र महलमा बस्ने सबैका लागि समान भएको दाबी गर्दै उनले हरेक नागरिकसम्म यो कार्यक्रम पुर्‍याउनुपर्ने बताए ।

नेता थापाले कम्युनिस्ट सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयकले बिपन्न नागरिकसम्म पहुँच पुग्ने नभएकोले आफ्नो कांग्रेसले विरोध जनाएको बताए ।

Published : Tuesday, 2019 January 29, 10:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया