डा.केसीको अनशनलाई लण्डनबाट समर्थन, दवावमा कम्युनिस्ट सरकार

लन्डन । ब्रिटेन–नेपाल प्राज्ञिक परिषदका संस्थापक अध्यक्ष एवम् ग्लोबल पोलिसी फोरम फर नेपालका संस्थापक अध्यक्ष समेत रहेका प्रा. सूर्यप्रसाद सुवेदीले चिकित्सा क्षेत्रको सुधारको माग राखेर अनशनरत डा.गोविन्द केसीको माग सम्बोध नगर्न आग्रह गरेका छन् ।

लण्डनमा बस्दै आएका प्रा.सुवेदीले मंगलबार विज्ञप्ति जारी गरेर नेपालमा बढ्दो भ्रष्टाचार, शिक्षालाई सेवाभन्दा व्यापारको रुपमा हेर्ने प्रवृत्ति भएको भन्दै चिकित्सा शिक्षा सुधारका लागि डा.केसीसंग सरकारले गरेको सहमति कार्यान्वयनमा जोड दिएका हुन् । उनले नेपाल सरकार र अनशनरत डा.केसीवीच संवाद शून्यताको स्थिति रहेको भन्दै चिन्तित जनाएका छन् ।
नेपालको जनआन्दोलन लगायतका सबै उतारचढावमा नेपाली जनतालाई निरन्तर सहयोग गर्दै आएको उनले बताएका छन् ।

प्रा.सुवेदीले भनेका छन्, ‘डा.गोविन्द केसीका मागहरू मुलतः चिकित्सा क्षेत्रको बेथितिसंग छ । नेपालको सम्पूर्ण उच्च शिक्षा क्षेत्र नै बेथितिको शिकार भएको धेरै वर्ष भइसकेको छ ।’
‘हालै संसदबाट पारित राष्ट्रिय चिकित्सा शिक्षा ऐन लगायतका उच्च शिक्षा क्षेत्र सम्बन्धि सबै ऐन कानूनको पुनरावलोकन गरी दीर्घकालीन नीति निर्माणका लागि आवश्यक कदम चाल्न नेपाल सरकारसंग आग्रह गर्दछु’, प्रा.सुवेदीले भनेका छन् ।

विद्यार्थीलाई राजनीतिक हतियारको रुपमा प्रयोग गर्ने प्रवृत्ति र विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्दा राजनीतिक भागवण्डा गर्ने प्रवृत्तिको अन्त्य गर्ने अठोटका साथ सम्पूर्ण उच्च शिक्षाको स्तर सुधार गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने आश्वासन र प्रस्तावसहित डा.केसीसंग सम्वाद शुरु गर्न नेपाल सरकारलाई प्रा. सुवेदीले आग्रह गरेका छन् ।

संसारका उत्कृष्ट विश्वविद्यालयहरूमा विभिन्न विद्यामा अध्यापन, अनुसन्धान र व्यवस्थापनमा अनुभव संगालेका प्राज्ञिकहरूको संस्था ग्लोबल पोलिसी फोरम फर नेपाल उच्च शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुधार गर्न नेपाल सरकारसंग सहकार्य गर्न तयार रहेको कुरा पनि प्रा.सुवेदीले आफ्नो विज्ञप्तिमा जनाएका छन् ।

देश र विदेशमा बसोबास गर्दै आएका नेपालीहरूले डा.केसीको अनशनलाई साथ र समर्थन दिएपछि कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई चर्को दवाव परेको छ ।

चिकित्सा क्षेत्रको सुधारका लागि नेपाल सरकारसँग भएका सहमति कार्यान्वयनको दवाव दिन अनशनरत डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । डा.केसीको अनशन झण्डै तीन हप्ता पुग्न थालेको छ ।

कमजोर बन्दै गएका डा.केसीको अनशनलाई स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले पनि साथ दिँदै आएका छन् । सत्तारुढ दल निकटका नेताहरू र मेडिकल माफियाहरूले भने डा.केसीको अनशनलाई मन पराएका छैनन् ।

Published : Wednesday, 2019 January 30, 11:52 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया