डा.केसीको माग पूरा हुँदा सबैको जित हुन्छः सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.गोविन्द केसीको माग पूरा गर्दा सबैको जित हुने बताएकी छिन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित अनशनस्थलमा बुधबार दिउँसो डा.केसीलाई भेट्न पुगेकी कार्कीले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, बरु जनताको जित हुन्छ ।’

‘मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाइँबाट आएको हो’, उनले भनिन्, ‘त्यसमा अलिकति माथेमा कार्यदलको पनि योगदान छ ।’

उनले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि गरिएका माग पूरा गर्दा सबैको जित हुने बताएकी हुन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले वर्तमान कम्युनिस्ट सरकार समक्ष आमरण अनशन बसेका डा.केसीको माग पूरा गर्नुको विकल्प नभएको बताइन् ।

सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उनले बताइन् । ‘डा.केसीको माग पुरा गर्‍यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’, पत्रकारहरूसँग कुरा गर्दै कार्कीले भनिन्, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’

प्रधानमन्त्री केपी ओलीले डा.केसीलाई तपाईंको माग पूरा गर्छु भनेर वचन दिएको स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘डा. केसी सन्यासी हो । आफ्ना लागि केही चाहिएको छैन । उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’

डा.केसीको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् । कार्कीले भनिन्, ‘मलाई लाग्दैन कि यसरी व्यक्तिलाई मारिन्छ । यदि इन्कार गर्‍यो भने तीन करोड नेपालको भावनामा ठूलो प्रहार हुन्छ । कहिल्यै नर्विसन चोट लाग्छ ।’

Published : Wednesday, 2019 January 30, 1:47 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया