कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन अनिवार्य भैसक्योः कांग्रेस (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध आन्दोलन अनिवार्य भैसकेको जनाएको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी मुख्यालय सानेपामा आकस्मिक पत्रकार सम्मेलन गरेर गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्ने निर्णय सच्चाएको जानकारी आफूहरूलाई आधिकारिक रुपमा नआएको बताए । ‘गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नामका अस्पताल खारेज गर्ने प्रक्रिया सच्चाउने निर्णय गरेको सुनेका छौँ । आधिकारिक जानकारी आएको छनै’, उनले भने, ‘यदि निर्णय सच्चाइएको रहेछ भने यो सरकारविरुद्ध माघ २१ गतेको प्रदर्शन झन् आवश्यक भएको छ । यस्ता गल्तीहरू सरकारले धेरै गरेको छ ।’

‘माघ २१ गते नेपाली कांग्रेसले राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको सबैलाई विदित नै छ । जिल्लाहरूमा यस सम्बन्धी आवश्यक तयारी प्रारम्भ भइसकेको छ । विरोध प्रदर्शन आयोजना गरिनुका कारण र मुद्धाहरूबारे म थप प्रष्ट्याउन चाहन्छु’, शर्माले भनेका छन् । उनले माघ १३ गते बसेको बैठकले विरोध प्रदर्शन गर्ने निर्णयसंगै मुद्धाहरूबारे निम्न निर्णय गरेको बताए ।

‘संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार भएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास भएको छ ।’

‘सरकारले आफ्नो गल्ती सच्याएको भन्ने विवरण संचार माध्यममा आएका छन्, यस बारेमा पार्टीलाई औपचारिक जानकारी प्राप्त भएको छैन’, उनले भनेका छन्, ‘दर्जनौं गल्तीहरू गरिसकेको सरकार तिनलाई सच्याएर अघि बढोस् भन्ने हाम्रो दबाब जारी रहनेछ ।’

शर्माले भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भएको छ ।

‘देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ’, उनले भनेका छन्, ‘कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र भएको छ ।’

महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू, जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरूलाई सरकारविरुद्धको प्रदर्शनमा उठाइनेछ ।

केन्द्रीय समितिको बैठकले विरोध प्रदर्शनको मुद्धामा ‘भ्रष्टाचार’लाई विधिवत माइन्युट गरेर सार्वजनिक समेत गरिसकेको तथ्य बारे सबै जानकार रहेको उनले बताए ।

‘केन्द्रीय समितिबाट निर्णय भई हामीले उठाउँदै आएका भ्रष्टाचारका सबै मुद्धाहरू त्यसभित्र समाविष्ट छन् र रहनेछन्’, प्रवक्ता शर्माले भनेका छन्, ‘वाइड बडी जहाज खरिदमा भएको अर्बौको घोटालाका बारे गम्भीर ढंगले गहिरो छानवीन गर्न हामीले संसदमा र सार्वजनीक रुपमा पनि आवाज उठाउदै आएका छौं । माघ २१ को विरोध प्रदर्शनमार्फत यसका लागि थप दबाब श्रृजना गरिनेछ ।’

‘नेपाल देश आफैले निर्माण गर्नु उपयुक्त हुने र गर्न सकिने ठहर गरिएको वुढी गण्डकी बहुउदेश्यीय परियोजना विना प्रतिश्पर्धा विदेशी कम्पनीलाई सुम्पीनुका पछिल्तीर, के रहस्य लुकेको छ । माघ २१ को प्रदर्शनमा यो विषय पनि सम्मिलित रहनेछ’, उनले भनेका छन् ।

कांग्रेसले आवश्यकताभन्दा दोब्बर बढी रुख काट्ने प्रस्तावका कारण उत्पन्न विवाद अन्त्य गरी, निजगढ विमानस्थल निर्माण गर्ने प्रकृयामा ढिलासुस्तीको विषय माघ २१ को प्रदर्शनमा गरिने जनाएको छ ।

‘३३ किलो सुन काण्डमा ‘ठूला माछा’हरू सरिक छन् भनेर गृहमन्त्री स्वयंबाट आएको अभिव्यक्ति अनुरुपका ति ठुला माछा को हुन् र सरकार किन तिनलाई पक्राउ गरिरहेको छैन ? माघ २१ को प्रदर्शनमा यो विषय पनि उठ्नेछ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश ५ मा प्रदेश सभा सचिवालयले ११ वटा गाडी खरिद गर्दा वास्तविक वजार मुल्य भन्दा बढी निकासा गरी गरिएको भ्रष्टाचारमा कार्वाहीका लागि दबाब बढाउन आगामी प्रदर्शनमा सो विषय जोडिनेछ ।’

‘संघीयता कार्यान्वयनका बाँकी कार्यभार पुरा गर्न भइरहेको ढिलाईले समग्र सत्ताको नियतमाथि नै गम्भीर प्रश्न खडा गर्नु पर्ने भएको छ’, प्रवक्ता शर्माले भनेका छन्, ‘कम्युनिष्ट राजनीतिक दर्शनको प्रभाव र दबाबमा रहेर शक्तिको सम्पूर्ण केन्द्रीकरण गर्ने धङ्धङ्ती प्रधामन्त्रीमा जो देखिएको छ विरोधमा प्रदर्शनमा यो मुद्धा समेटिने छ । संघीयताको सम्वद्र्धन र रक्षाका लागि आम नागरिकलाई हामी प्रदर्शन मार्फत अपील गर्नेछौं ।’

Published : Wednesday, 2019 January 30, 2:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया