कांग्रेसले संसदीय गरिमा राख्यो, कम्युनिस्टहरुले बुझेनन् कुरा

काठमाडौं । कम्युनिस्ट सरकारले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका बीच राष्ट्रिय सभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएको छ ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको शुरूदेखि नै नेपाली कांग्रेसका सांसदहरूले उभिएर विरोध गरेका थिए ।

नेपाली कांग्रेसले संसदको गरिमा कायम राख्न मर्यादित भएर बैठक अवरोध गरे पनि कम्युनिस्ट सरकार, राष्ट्रिय सभाका अध्यक्ष र सत्तारुढ दलका सांसदहरुले जबर्जस्ती बैठक चलाएका थिए ।

चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराए पनि अवरोध गरेकाले उनीहरू छलफलसमेत बहिष्कार गरेका छन् ।

संशोधन हालेका राष्ट्रिय जनता पार्टीका सांसद वृजेशचन्द्र लालले छलफलमा सहभागी हुँदै डा.गोविन्द केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गरिनुपर्ने माग गरेका थिए । सांसद लालको प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ ।

त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गर्न प्रस्ताव गरेका थिए ।

कांग्रेस सांसदहरूले बैठक अवधिभर उभिएर विरोध गरे पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विधेयक पारित गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । बहुमतका आधारमा विधेयक पारित भएको अध्यक्ष तिमिल्सिनाले बताए ।

प्रतिनिधि सभाबाट पारित भइसकेको यो विधेयक अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

Published : Thursday, 2019 January 31, 3:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया