डा.केसीको जीवन बचाउन चिकित्सकहरुले लिए कठोर निर्णय, आत्तियो ओली सरकार

काठमाडौं । नेपाल चिकित्सक संघले डा.गोविन्द केसीको जीवन रक्षाका लागि कम्युनिस्ट सरकारलाई दवाव दिन अस्पतालहरुमा शुक्रबार आकिस्मक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

कम्युनिस्ट सरकारले डा.केसीको मागलाई बेवास्ता गर्दै प्रतिनिधि सभा र राष्ट्रियसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि त्यसको विरोधमा चिकित्सकहरुले शुक्रबारबाट आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएका हुन् ।

काठमाडौंमा बिहीबार बसेको संघको आकिस्मक बैठकले कम्युनिस्ट सरकारका कारण डा.केसीको जीवन संकटमा परेको र उनीसँगको सम्झौता कार्यान्वयनमा बेवास्ता गरेको भन्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरी प्रदर्शनमा उत्रने निर्णय गरेको छ ।

डा.केसीले विगतमा भएका सहमतिलाई प्रधानमन्त्री खड्गप्रसाद ओलीले उल्लंघन गरेको आरोप लगाउँदै आएका छन् ।

चिकित्सक संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार १ दिनका लागि सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जानकारी गराउँदछौँ ।’

चिकित्सक संघले केसीको जीवन रक्षार्थ देशभरका शाखा कार्यालय तथा सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा सञ्चालन गरेको रिले अनसशन लगायतका कार्यक्रमलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ ।

डा.केसीको सत्याग्रहको २३औं दिन भइसक्दा समेत सरकारले जीवन रक्षाका निम्ति कुनै पनि चासो व्यक्त नगर्ने, आफ्नो शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा समेत घुसपैठ गर्दै वातावरणलाई खलल पु¥याउने कार्यप्रति संघले भर्त्सना गरेको छ ।

संघले आम सर्वसाधारण नागरिकको सस्तो, सुलभ र गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका लागि निरन्तर लडिरहेका सत्याग्राहीका सम्बन्धमा सरकार मौन रहनुलाई विडम्बनापूर्ण भनेको छ ।

डा.केसीको जीवन रक्षार्थ आधारभूत मानव अधिकारको समेत पालना नगरिएको हुनाले आकस्मिक बाहेकका सेवा बन्द गर्न बाध्य भएको संघले जनाएको छ ।

Published : Thursday, 2019 January 31, 5:32 pm

1 प्रतिकृया प्राप्त “डा.केसीको जीवन बचाउन चिकित्सकहरुले लिए कठोर निर्णय, आत्तियो ओली सरकार”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया