नेविसंघसँग आजित बन्यो कम्युनिस्ट सरकार, दिउँसै जल्यो ओलीको पुत्ला

काठमाडौं । कम्युनिस्ट सरकारको अधिनायकवादी चरित्र झन् तिब्र हुँदै गएको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौंको नयाँबानेश्वरमा प्रधानमन्त्री खड्गप्रसाद ओलीको पुत्ला जलाएको छ ।

नेविसंघका नेता मोतीलाल भण्डारीको नेतृत्वमा जम्मा भएका विद्यार्थी नेताहरूले शुक्रबार नयाँबानेश्वरमा कम्युनिस्ट प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् ।

उनीहरूले कम्युनिस्ट सरकारलाई सुध्रिन चेतावनी समेत दिएका छन् । ओली सरकारले सुधारको संकेत नगरे देशभरि आन्दोलन चर्काएर सडकबाटै हुत्याएर फाल्ने विद्यार्थी नेताहरूले चेतावनी दिएको नेता भण्डारीले जानकारी दिए ।

‘कम्युनिस्ट सरकार अधिनायकवादी चरित्रका साथ अगाडि बढेको छ’, उनले भने, ‘यस्तै अवस्था रह्यो भने नेविसंघले देशभरि आन्दोलनको आँधीबेहरी सिर्जना गरेर कम्युनिस्टहरूलाई लखेट्ने छौँ ।’ रामचन्द्र पौडेल निकट मानिने नेविसंघका नेता भण्डारीले देशलाई कम्युनिस्ट मुक्त गराउनुपर्ने बेला आएको बताए ।

निर्वाचनका बेला जनता समक्ष गरेको कुनैपनि आश्वासनलाई कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीले पूरा नगरेको भन्दै विद्यार्थी नेता भण्डारीले भने, ‘कम्युनिस्टहरू भनेका झुटको खेती गर्नेहरूको झुण्डा हो । उनीहरूले डा.गोविन्द केसीसँग गरेको सहमति कार्यान्वयन गरेनन् । अहिले आएर धोका दिए । डा.केसीको जीवन रक्षाका लागि नेविसंघले अभियान चलाउँछ ।’

ओलीको पुत्ला जलाउने क्रममा नेविसंघका नेताहरूले अनशनरत डा.गोविन्द केसीको माग पूरा गर्न आग्रह गर्दै कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए । उनीहरूले डा.केसीसँग विगतमा भएको सहमति कार्यान्वयनको माग गरे ।

नेपाल विद्यार्थी संघले कम्युनिस्ट सरकारको निरंकुशता, अधिनायकवाद, भ्रष्टाचार, महँगी लगायतका विरुद्ध प्रदर्शन गर्दै आएको छ ।

नेविसंघका प्रदर्शनहरूमा कम्युनिस्ट सरकारले दमन पनि गर्दै आएको छ ।

Published : Friday, 2019 February 1, 6:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया