कांग्रेसले सम्झियो दशेभरिका कार्यकर्तालाई, दियो धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकार हजारौं नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त संसदीय लोकतान्त्रिक, गणतन्त्र र यसका आधारभूत मूल्य र मान्यतालाई क्षत विक्षत बनाएको आरोप लगाएको छ ।

कांग्रेसले विज्ञप्ति जारी गरेर खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार भ्रष्टाचार, महंगी, हत्या, हिंसा र बलात्कार जस्ता गैर कानूनी र अपराधिक घटनाको मतियार बनेको आरोप लगाएको छ ।

‘जनताद्वारा निर्वाचित प्रतिनिधिहरुको सर्वोच्च निकाय संसदमा संसदीय पद्धति र प्रचलन विपरीत एकदलीय शैलीमा प्रतिपक्षीलाई निषेध गर्दै हैकमवादी शैलीमा संसद संचालन गर्ने, प्रधानमन्त्री स्वयंको अग्रसरतामा गरिएको सम्झौता विपरीत संसदलाई ढाँटेर चिकित्सा शिक्षा विधेयक विवादास्पद र जवर्जस्ती तरिकाले पारित गर्ने काम गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेसले चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राखी शान्तिपूर्ण सत्याग्रहमा रहेका डा.गोविन्द केसीको माग र जीवन रक्षाप्रति मन्त्रि स्वयंबाट विल्कूलै अनुत्तरदायी र गैर जिम्मेवार अभिव्यक्ति र व्यवहार गरिनु उपयुक्त नरहेको जनाएको छ ।

‘मुलुकको ऐतिहासिक परिवर्तनका धरोहर स्वर्गीय नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई खारेज गर्ने प्रपञ्च गर्नु, संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई छलेर संवैधानिक आयोगमा मनपरी नियुक्ति गर्नु, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र जघन्य हत्याका दोषीलाई संरक्षण गरी निर्दोष व्यक्तिलाई चरम यातना दिई जवर्जस्ती अपराध कबुल गराउने दुष्प्रयास गर्ने जस्ता अत्यन्त क्रूर र निन्दनीय घटनाहरुमा वर्तमान सरकार स्वयं संलग्न र साझेदारी रहेको प्रष्ट भएको छ’, कांग्रेसले भनेको छ ।

‘मित्र राष्ट्रहरुसँगको नेपालको सन्तुलित परराष्ट्र नीति र समदुरी भावका विपरीत विवादास्पद अभिव्यक्ति दिने, मुलुकको सामाजिक र सांस्कृतिक सद्भाव र एकतामा आँच पु¥याउने गरी विवादास्पद अन्तर्रा्ष्ट्रिय गैर सरकारी संस्थाको कार्यक्रममा सरकार स्वयं सह–आयोजक बन्ने र सरकारी स्रोत साधनको दुरुपयोग गर्ने जस्ता अनगिन्ती जनविरोधी र राष्ट्रहित विपरीतका क्रियाकलापमा केपी ओली नेतृत्वको कम्युनिष्ट सरकार गठन भएको एक वर्ष नवित्दै किर्तिमान कायम गरेको छ’, नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले भनेका छन, ‘नेपाली जनताको अभिमतबाट सरकारमा पुगेको दलले मुलुकवासीका आकांक्षा र राष्ट्रका समस्याहरुको समाधानमा क्रियाशील रहनेछ भन्ने प्रतिपक्षी दल लगायत सबै देशवासीको अपेक्षा रहेकोमा त्यसको ठिक विपरीत हत्या, हिंसा, डर, त्रास, आतंक, भ्रष्टाचार, बलात्कार, महंगी लगायत अनेकन जनविरोधी र आपराधिक क्रियाकलापको पृष्ठपोषणमै सरकार उद्दत रहेको अवस्थामा, प्रतिपक्षी दलको नाताले यस्ता जनविरोधी र आपराधिक क्रियाकलापलाई निस्तेज गर्नका लागि नेपाली कांग्रेसले पटक–पटक संसदमा आवाज उठाउँदै आएता पनि अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकारले अटेर गरी त्यस प्रकारका गतिविधिमा अझ बढी सक्रिय रहेकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको माघ १३, २०७५ को बैठकको निर्णय अनुसार देशभरका ७७ वटै जिल्लामा कम्युनिष्ट सरकारको स्वेच्छाचारी, जनविरोधी र अधिनायकवाद उन्मुख गतिविधिका विरुद्ध खवरदारी गर्न विरोध सभाको आयोजना गर्ने निर्णय गरेको र उक्त निर्णय अनुसार हिजो माघ २१ गतेका दिन मुलुकभरका सबै जिल्लामा हजारौं जनताको सहभागितामा विशाल विरोध सभाका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न भएका छन् ।’

देशका ७७ वटै जिल्ला सदरमुकाममा वर्तमान कम्युनिष्ट सरकारको जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापबाट आजित भएका जनताहरुको स्वतःस्र्फूत अपार जनसहभागिताबाट वर्तमान सरकारप्रतिको जनआक्रोश र निराशा प्रष्ट भएको कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिद्वारा आयोजित हिजोको विरोध सभाका देशव्यापी विशाल जनप्रदर्शनबाट वर्तमान निरंकुश र सर्वसत्तावादी सरकार जनताको आशा र विश्वास गुमाई सकेको प्रष्ट भएको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाली कांग्रेस उक्त विरोध प्रदर्शनमा सहभागी देशभरका सम्पूर्ण लोकतन्त्रवादी आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्दै वर्तमान सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकारका जनविरोधी र अलोकतान्त्रिक क्रियाकलापलाई निस्तेज पार्नका लागि भविष्यमा पनि अझ बढी चनाखो र सजग रही सक्रिय रहनु हुनेछ भन्ने विश्वास समेत लिएको उल्लेख गरेको छ ।

Published : Wednesday, 2019 February 6, 11:40 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया