कम्युनिस्ट सरकारको चर्तिकलाले गम्भीर बन्यो कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरूलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद् घटनालाई आधार मानेर हालै पोखरामा नेविसंघका नेताहरूलाई फौजदारी मुद्दा लगाइएको भन्दै गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न कम्युनिस्ट सरकारसँग माग गरेको छ ।

कांग्रेसले यही माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ ।

नेपाली कांग्रेसले प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवादज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कम्युनिस्ट सरकारका गलत क्रियाकलापविरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढङ्गले गरिनुपर्छ भन्ने प्रस्ट मान्यता रहेको जनाउँदै कांग्रेसले माघ २१ गतेको प्रदर्शन सकिएपश्चात् धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

जनकपुरमा प्राथमिक उपचारपश्चात् हाल उनको उपचार विराटनगरमा भइरहेको उल्लेख गर्दै मुख्य सचिव पौडेलले तत्काल जाहेरी दर्ता गरी दोषीमाथि कारवाही गर्न बैठकले सरकारसमक्ष माग गरेको जानकारी दिएको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा.नारायण खड्का, डा.मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले आफ्नो धारणा राखेका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार माघ २४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Wednesday, 2019 February 6, 9:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया