कांग्रेसकै लाइनमा आइपुगे ओली, झट्का लाग्ने गरी एक्लिए प्रचण्ड

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले भेनेजुयला प्रकरणमा दिएको वक्तव्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चिप्लिएको बताएका छन् ।

ओलीको यो अभिव्यक्तिले प्रचण्ड एक्लिएका छन् । ओलीले घुमाउरो भाषामा प्रचण्डले भेनेजुएलालाई साथ दिएर गल्ती गरेको बताएका छन् ।

सरकारी टेलिभिजनबाट प्रशारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मंगलबार साँझ अमेरिकी राजदूत र्‍याण्डी बेरीसँग बालुवाटारमा भएको भेटमा पनि यो प्रसंग आएको बताए ।

‘हिजो राजदूतसँगको भेटमा स्वभाविक रूपमा यो प्रसंग पनि चल्यो’, ओलीले भनेका छन्, ‘त्यो वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ । यो त्यस्तो जरूरी छैन । अलिकति स्लिप (चिप्लिएको) भएको हो । म भोलिपल्ट आउँदै थिएँ । अघिल्लै दिन वक्तव्य नदिई नहुने केही कारण परेको थिएन ।’

ओलीले प्रचण्डको वक्तव्यमा प्रयोग गरिएको भाषा पनि उपयुक्त नभएको बताएका छन् ।

‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी ‘कु’को प्रयास अस्वीकार्य छ’, प्रचण्डले विज्ञप्ति भनेका छन्, ‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुयलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ । यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो ।’

प्रधानमन्त्री यति कडा भाषामा विज्ञप्ति निकाल्नु पर्ने जरूरी नभएको बताएका छन् । ‘एउटा जरूरी विषय थिएन । अर्को जुन भाषा प्रयोग भयो त्यो पनि उपयुक्त भएन त्यसले एउटा तरंग ल्यायो’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तर कोही एक जना साथीले एउटा वक्तव्यमा पछाडि देश–देशको सम्बन्ध अडेको हुँदैन । त्यसैबाट उत्पन्न भएको पनि होइन त्यसैबाट अन्त्य हुने पनि होइन । जानेर नजानेर यस्ता स–साना घटना र उतारचढाव हुन सक्छन् । केही लाइनको वक्तव्यमा युद्धको घोषणा त गरिएको छैन ।’

ओलीले अमेरिकालाई विशाल र सवल मुलुक भएकाले यस्तो सानो कुरामाचित्त दुखाउनु आवश्यक नभएको बताएका छन् ।

‘केही जीव कुनै सानो चिजले छुँदा प्राणै जाने खालका हुन्छन् । विशाल जनावरको त टाउकामा केही बस्यो भने पनि त्यसले थाहा पाउँदैन’, ओलीले भनेका छन्, ‘अमेरिका त्यत्रो देशले यस्ता स–साना कुरामा अल्झिराख्नु वाञ्छनीय पनि हुँदैन ।’

ओलीले भने, ‘सम्बन्ध बिग्रियो भन्ने धेरै हल्ला छ त्यस्तो होइन । अलिकति आफ्नो नाम लिएर बोलिएको प्रसंगमा अमेरिकालाई अलिकति चित्त दुखेको होला ।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि बेलाबेलामा चिप्लिने गरेको बताए । केही दिनअघि अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले नेपाल र भुटानलाई भारतको भूमि मान्ने गरेको समाचार लेखेका थिए ।

‘ठूलाहरूका पनि स्लिप हुन्छन् । हामी देखिरहेका छौं । हामीजस्तो सानो देशलाई अर्को देशको अंग हो भनेर कसैले भन्यो भने अलि धेरै चित्त दुख्ने होइन र ?’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अलिक सानो र कमजोर भयो भने चित्त दुखाउन पनि नपाउने ठूलो भयो भने धेरै चित्त दुखाउनु पर्ने हो र ?’

उनले आफू त्यतिबेला नेपालमै भएको भए नेकपाको यस्तो विज्ञप्ति नआउने बताए । माघ ११ गते प्रचण्डले विज्ञप्ति जारी गर्दा प्रधानमन्त्री ओली स्विट्जरल्याण्डमा थिए ।

‘हाम्रा स्पष्ट र स्थीर नीतिहरू छन् । त्यससम्बन्धमा हामीले हाम्रा धारणा स्पष्ट पारिसकेका छौं । जस्तो भयावह चित्रण गर्न खोजिरहेका छन् त्यस्तो होइन’, प्रधानमन्त्रीले भने, ‘त्यो स्लिप भएको हो त्यसमा अल्झिनु वाञ्छनीय हुँदैन ।’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भेनेजुएला प्रकरणमा अमेरिकालाई साथ दिएको छ । ओलीको यो अभिव्यक्तिले कम्युनिस्ट सरकार पनि नेपाली कांग्रेसकै लाइनबाट अमेरिकालाई हेर्न बाध्य भएको छ ।

Published : Thursday, 2019 February 7, 1:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया