ओली सरकारको मन्त्रिमण्डल भ्रष्टहरुको क्लवः गगन थापा

गोरखा । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिमण्डल भ्रष्टहरुको क्लवको भएको बताएका छन् ।

गोरखामा शनिबार आयोजना गरिएको चौथो सुशील स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै युवा नेता थापाले प्रधानमन्त्री ओलीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको बताए । उनले भने, ‘यो मन्त्रिमण्डल नै भ्रष्टहरुको क्लव हो ।’

‘प्रधानमन्त्री खड्गप्रसाद ओली बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहोर्‍याएको दोहोर्‍याइ गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर एउटा वाक्य बोलिरहनुहुन्छ’, कांग्रेसका नेता थापाले भने, ‘तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन् ।’
‘यो मन्त्रिमण्डल नै भ्रष्टहरुको क्लव हो । कुन चाहिँ मन्त्रालय चोखो छ ?’, उनले भने, ‘वाइड बडी विमान खरिद गर्दा भ्रष्टाचार, बुढीगण्डकीमा भ्रष्टाचार, मान्छे बाहिर पठाउँदा भ्रष्टाचार, मान्छे भित्र्याउँदा भ्रष्टाचार भएको छ ।’

भ्रष्टचारीलाई प्रधानमन्त्री ओलीले नै ढाकछोप गरेको आरोप कांग्रेसका नेता थापाले लगाएका छन् । ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने ? मैले भन्देको छु प्रधानमन्त्रीलाई अबदेखि तपाई ऐना नहेर्नोस् भनेर’, उनले भने ।

व्यक्ति लागेर नभइ सिंगै पार्टी नै लागेर संस्थागत भ्रष्टाचार गरेकोे थापाले लगएका छन् । ‘माफिया, दलाल, तस्करलाई संरक्षण दिँदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकवर्षभित्र भएको छ’, उनले भनेका छन्, ‘भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ। एकपछि अर्को झुट, एकपछि अर्को झुट। कति सहने नेपाली जनताले ?’

यस्तो अवस्थामा लगानी सम्मेलनको नौटंकी गर्न लागेको भन्दै उनले विश्वास गुमाएको देशमा धोक्रोमा पैसा बोकेर कोही नआउने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओली राणाकालीन प्रधानमन्त्रीभन्दा पनि अहिलेसम्मकै अभूतपूर्व शक्तिशाली र सुरक्षित भएको तर काम गर्न नसकेको कांग्रेसका युवा नेता थापाले आलोचना गरेका छन् ।

शक्तिशाली बहुमतमा रहेर पनि काम गर्न नसकेको देख्दा यो वाम एकता नभएको भन्दै थापाले लोभी र कायरहरुको मेलको संज्ञा दिएका छन् ।

‘अहिले हाम्रो नेकपा, आदर्शसहित, सिद्धान्तसहित एक भएको भनेर जति होहल्ला गरे पनि आदर्श र सिद्धान्तसहित एक भएको होइन । यो त केपी वली जस्ता लोभी र प्रचण्डजस्ता कायरहरुको एकता मात्र हो’, नेता थापाले भने, ‘स्थानीय निर्वाचनपछाडि केपी वलीलाई लाग्यो, मैले प्रचण्डसित तालमेल गरिनँ भने बहुमत ल्याउन केही सीप लाग्दैन। उता प्रचण्डलाई लाग्यो, मैले कांग्रेस वा एमालेसँग तालमेल गरिनँ भने मेरै जमानत जफत हुनेवाला छ । त्यसैले प्रचण्डसित हात मिलाउँदा रगत लत्पतिन्छ भन्दै पन्छिने केपी र प्रचण्डको एकता भनेको लोभी र कायरको मेल हो। सिद्धान्त, आदर्श केही पनि होइन ।’

Published : Saturday, 2019 February 9, 8:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया