प्रचण्डका प्यारा थापा–मल्ल पुरस्कृत, प्रहरी बढुवामा भाँडभैलो

काठमाडौं । नेपाल प्रहरीमा एसपी र एसएसपी बढुवामा राजनीतिक पहुँच र आर्थिक चलखेलका भरमा गरिएको भन्दै भित्रभित्रै तरंग उत्पन्न भएको छ ।

बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका प्रतिनिधि सहसचिव केदार शर्मालाई विदा बस्न लगाई एसपी र एसएसपीहरूको सूची बनाएको स्रोतले जनाएको छ ।

आइजीपी सर्वेन्द्र खनालको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयबाट सहसचिव केदार शर्मा सदस्य छन् । सदस्य सचिवमा एआइजी ठूले राई रहेका छन् ।

गृहसचिव प्रेमकुमार राईले सहसचिव केदार शर्माको ठाउँमा सहसचिव ईदु घिमिरेलाई बढुवा सिफरिस समितिमा पठाएर आफ्ना मान्छेहरूको सूची बनाएको स्रोतले जनाएको छ ।
गृहसचिव राईलाई बालुवाटारबाट एसपी र एसएसपीहरूको बढुवाको लामो सूची आएको स्रोतले जनाएको छ ।

महानगरीय अपराध महाशाखामा कार्यरत एसपी नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएपछि बढुवा प्रकरण विवादमा तानिएको हो । गृह मन्त्रालयको सिफारिसमा प्रहरी प्रधान कार्यालयले १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको थियो ।

सिफारिसको सूचीमा सिनियर रहेका एसपी उप्रेतीको नाम परेन । उप्रेतीभन्दा ६ महिना जुनियर र कार्यक्षमतामा कमजोर मानिएका एसपी दीपक थापा भने एसएसपीमा बढुवा हुन सफल भए ।

प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भरतपुर महानगरपालिकाको मयेरमा रेणु दाहाललाई जिताउन भूमिका खेलेका थापालाई पुरस्कार स्वरुप जुनियर हुँदा हुँदै पनि एसएसपीम बढुवा गरिएको आरोप छ ।

एसपी दीपक थापाप्रति लक्षित गर्दै उनले भने, ‘मभन्दा एक ब्याज जुनियरले बढुवा पाएका छन् । करियर नै समाप्त भएपछि कसरी संगठनमा रहन सकिन्छ ?’

२०७१ साल फागुन १० गते उप्रेती डिएसपीबाट एसपीमा बढुवा भएका हुन भने थापा २०७२ साउन ८ गते बढुवा भएका थिए । २०७१ सालमा उप्रेतीसँगै बढुवा भएका १७ जना एसपीहरुलाई बढुवा नदिएर जुनियर एसपी थापाको बढुवा भएपछि प्रहरी संगठनमा चरमा निराशा छाएको छ ।

तिनै थापा २०७१ सालमा कार्यक्षमतामा कमजोर ठहरिएर बढुवामा नपरेपछि सामाजिक सन्जाल फेसबुकमा सतीले सरापेको देश भन्दै पोस्ट गरेर बढुवा समितीलाई गालीगलौज गरेका थिए ।

टेकप्रसाद तामाङ, भीम ढकाल र दीपक थापा एसपी उप्रेतीभन्दा जुनियर प्रहरी अधिकारी हुन् । त्यसो त २०४९ सालका नबराज भट्ट, उमाशंकर पन्जियार तथा २०५१ सालमा प्रबेश गरेका भरत बोहरा, रबिन्द्र केसीलगायत १७ जनालाई पछाडि पारेर २०५२ सालका थापा लगायत भीम ढकाल, टेक तामाङलाई बढुवा गरेर संगठनमा मूल्याङ्कनलाई धोती लगाइएको छ ।

उप्रेतीले बारा, रसुवा, सिन्धुली, उदयपुरलगायतका जिल्लाको कमाण्ड सफलतापूर्वक सम्हालेका थिए ।

स्रोतका अनुसार एसपी उप्रेतीलाई बढुवा गरी एक वर्ष जुनियर दीपक थापालाई बढुवा नगर्न प्रहरी प्रधान कार्यालयमाथि ठूलो दबाब थियो । एकाएक अन्तिममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसचिव प्रेमकुमार राईलाई दबाब दिएपछि उप्रेतीको नाम काटेर थापाको नाम हालिएको थियो ।

प्रहरीको नियमावली अनुसार एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष पुग्नु पर्ने प्रावधान थियो । प्रचण्डलाई खुसी बनाउन नियमावली नै परिवर्तन गरी चार वर्षबाट तीन वर्षमा झारिएको छ । जुन सरासर गलत हो ।

एसपी थापा एकातिर कार्य क्षमता र कमाण्डमा असक्षम मानिन्छन् भने अर्को्तिर उनी ६ महिना जुनियर नै थिए ।

पहिलो नम्बरमा सन्दीप भण्डारी र दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । तेस्रो नम्बरका उमेशराज जोशी आइजिपीले रुचाएको र चौथो नम्बरमा श्यामलाल ज्ञवालीलाई नेकपाकै नेताहरूको सिफारिस रहेको स्रोत बताउँछ ।

निर्मला पन्त प्रकरणपछि समस्यामा रहेको कञ्चनपुर सम्हाल्न पुगेका एसपी कुबेर कठायत पनि सोही ब्याचका हुन् । बढुवामा उनलाई छुटाइयो ।

उनीसहित भरत बोहरा, सुदीप गिरी, केदार ढकाल, राजेन्द्र विष्ट, राजेश बाँस्तोला, जनक भट्टराई, दुर्गा सिंह, किरण राणा, कृष्ण महत, लालमणि आचार्य, विष्णु केसीलगायत बढुवामा छुटेका छन् ।

डिएसपी बढुवामा पनि यसपटक चरम राजनीति भएको छ । आफ्नो ब्याचमा पहिलो र दोस्रो नम्बरमा रहेका डिएसपीहरू नै बढुवामा छुटेका छन् । ११४ को टोलीको भुवनेश्वर तिवारी पहिलो नम्बरमा तथा ऋषि कँडेल दोस्रो नम्बरमा थिए । ब्याचका १२ जना बढुवा हुँदा पनि उनीहरू भने छुटेका छन् ।

प्रकाश रानाभाट र जनार्दन जिसी कर्मचारी प्रशासन शाखामा भएकाले उनीहरूलाई बढुवामा अघि पारिएको छ ।

२६ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । रमेश बस्नेत, हीराबहादुर पाण्डे, श्यामकृष्ण अधिकारी, नान्तीराज गुरुङ, रविन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाइँ, डा.मेखबहादुर खत्री, विनोद सिलवाल, भीम दाहाल छन् ।

रमेश थापा, प्रकाश रानाभाट, विमल कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, दानबहादुर मल्ल, रञ्जु सिग्देल, अनुपमशमशेर जबरा, श्याम महतो, कृष्ण पंगेनी, हेम थापा, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसपी बढुवाको सिफारिसमा परेका छन् ।

सिनियर डिएसपीको टपटेनभित्र रहेका शिवकुमार श्रेष्ठ, सुरेश काफ्ले, प्रकाश मल्ल, राजकुमार सिलवाल, अम्रेन्द्रबहादुर सिंह, होविन्द्र बोगटी, दयानिधि ज्ञवाली, दीपक पोखरेल, पदम विष्ट, पदम धितालहरू बढुवामा परेका छैनन् ।

आर्थिक चलखेल र राजनीतिक पहुँचका आधारमा ४४औँ नम्बरकी रञ्जु सिग्देल, ४०औँ नम्बरका जनार्दन जिसी, ३७औँ नम्बरका कमल थापा, ३१औँ नम्बरका प्रकाश रानाभाट, ३०औँ नम्बरका नवराज अधिकारीलाई बढुवा गरिएको छ ।

डिएसपीबाट एसपीमा बढुवा हुनेमा प्रचण्डका पूर्वअंगरक्षक पनि छन् । प्रचण्डकै दवावमा डिएसपी दानबहादुर मल्ललाई एसपीमा बढुवा गरिएको छ ।

Published : Monday, 2019 February 11, 12:27 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया