साढे आठ करोड अकुत सम्पत्ति कमाएका खड्का धरौटीमा छुटे

काठमाडौं । अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका नेपाल आयल निगमका पूर्वकार्यकारी दिर्नेशक गोपाल खड्का विशेष अदालतमा साढे दुई करोड धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

गैरकानूनी सम्पत्ति आर्जनको आरोप खेपेका खड्काले मंगलबार साढे २ करोड रुपियाँ धरौटी बुझाएर तारेखमा छुटेका हुन् ।

विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपियाँ धरौटी माग गरेको थियो ।

अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६ सय २९ रुपियाँ गैरकानूनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ ।

अख्तियारको आरोपपत्र अनुसार खड्काले ८ करोड ६४ लाख ६९ हजार ७ सय ५१ रुपियाँ मात्रै बैध रूपमा आर्जन गरेकोमा उनीमाथि अनुसन्धान हुँदा २७ करोड ३० लाख ७५ हजार ३ सय ८० रुपियाँ सम्पत्ति जोडेको भेटिएको थियो ।

पछिल्लो ६ वर्षको अवधिमा ७ करोड ४४ लाख आर्जन गरेका खड्काले त्यसअघि इन्जिनियरको सेवा सुरु गरेदेखि सडक विभागको सुपरिटेन्डेन्ट इन्जिनियरबाट अवकाश हुँदासम्म एक करोड २० लाख आर्जन गरेका थिए ।

खड्का पछिल्लो समय आयल निगमको कार्यकारी निर्देशक थिए । उनी त्यही समयमा जग्गा खरिद अनियमिततामा मुछिएका थिए ।

खड्काले करीब साढे ४० लाख रुपियाँ तलब बुझेकोमा जग्गा बिक्रीबाट ५८ लाख आम्दानी देखाएका छन् ।

घरभाडाबाट १३ लाख ५६ हजार बुझेको उल्लेख गरेका छन् । खड्काले ५ करोड ३३ लाखको ऋण सापटीलाई आर्जनको रूपमा व्याख्या गरेका थिए ।

Published : Tuesday, 2019 February 12, 7:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया