नैनसिंह महरले गरेका मनोनयन र निर्णयहरू कांग्रेसद्वारा बदर

काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले अघिल्लो मिति राखेर मनोनित गरेका जिल्ला सभापति, पदाधिकारी र सदस्यहरू बदर गरिदिएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अघिल्लो मिति राखेर गरिएका नेविसंघका मनोनयनका सबै निर्णयहरू बदर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले अघिल्लो मिति पारी नेविसंघ सभापति, पदाधिकारी या सदस्यहरूबाट भएका विभिन्न मनोनयनका सबै निर्णय बदर गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

राजीनामा दिनु अगाडि महरले नेविसंघका विभिन्न जिल्ला सभापतिहरू मनोनित गरेका थिए । केन्द्रीय पदाधिकारी र सदस्यहरू पनि महरले मनोनित गरेका थिए । कांग्रेसको निर्णयले पत्र पाएका उनीहरूको मनोनय बदर भएको छ ।

मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउँद, किशोरसिंह राठौर, गगनकुमार थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र मोहनबहादुर बस्नेतले आ–आफ्नो धारणा राखेका छन् ।

कांग्रेसले नेपाल विद्यार्थी संघको सभापति पदमा रही गरेको कार्यका लागि नैनसिंह महर तथा समावधि समाप्त भइसकेको उनको नेतृत्वको केन्द्रीय समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक फागुण १ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Published : Tuesday, 2019 February 12, 7:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया