फागुन १ जनयुद्ध होइन नरसंहार दिवस, नेकपाकै नेताहरूबाट विरोध

काठमाडौं । माओवादीका नेताहरूले कथित ‘जनयुद्ध’ दिवस मनाइरहेका बेला सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेताहरूले असहमति जनाएका छन् ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले पनि जनयुद्ध दिवस मनाएको छैन । जनयुद्ध दिवसको नाम परिवर्तन गरेर ‘जनआन्दोलन र जनयुद्धका शहीदहरूलाई श्रद्धाञ्जलि सभा’ भनेर सत्तारुढ नेकपाले ब्यानरमा लेखेको छ ।

सामाजिक सञ्जालमा फागुन १ गतेलाई विरोध गर्दै ‘नरसंहार दिवस’ भनेर टिकाटिप्पणी गरेका छन् । फागुन १ गतेबाट शुरु भएको कथित जनयुद्धले देशमा १७ हजारको ज्यान लिएको तथा विकास निर्माण हुन नदिएको भनेर टिकाटिप्पणी गरेका छन् ।

माओवादीको कथित जनयुद्धकै कारण मुलुक पचास वर्ष पछाडि पुगेको भनेर आरोप लगाइएको छ । जनयुद्ध पूर्णरुपमा असफल भएको भनेर टिप्पणी पनि गरिएको छ ।

माओवादीको कथित जनयुद्धले गर्दा नै देशमा विकास हुन नसकेको नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले फेसबुकमा लेखेका छन् । उनले माओवादीको जनयुद्धका विषयमा विवाद रहेको भन्द्र सशस्त्र युद्धका बेला माओवादीले विकास निर्माणका संरचनाहरू भत्काएको बताएका छन् ।

प्रदेश ५ का मुख्यमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले पनि माओवादीको कथित जनयुद्धलाई मन पराएका छैनन् ।

‘विगतमा भिन्न भिन्न राजनीतिक कार्यदिशा बोकेर आएका पार्टीहरू एक भएका हौँ’, पोखरेलले बुधबार बिहान फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘एकताबद्ध नेकपा अतितमुखी होइन भविष्यमुखी हुनु पर्दछ ।’

नेकपा निकट मानिने पत्रकार खेम भण्डारीले पनि कथित जनयुद्ध दिवसको विरोध गरेका छन् । ‘कथित जनयुद्धः जुन प्रकरणको जीवनभर विरोधी रहियो त्यसैलाई महान मान्न सकिदैन । तदर्थवादले संसार चल्दैन है कमरेड’, उनले फेसबुकमा लेखेका छन्, ‘हिजो त्यही जनयुद्धको नारा दिंदै हामीलाई मारे, कुटे, लखेटे । आज हामीले त्यही जनयुद्धलाई महान भन्न पनि लगाउने तिनै भए !’

सामाजिक सञ्जालमा टिकाटिप्पणी गर्नेहरूले फागुन १ गतेलाई नरसंहारको शुरुवात भएको दिनका रुपमा मनाउन अपील पनि गरेका छन् ।

Published : Wednesday, 2019 February 13, 12:20 pm

1 प्रतिकृया प्राप्त “फागुन १ जनयुद्ध होइन नरसंहार दिवस, नेकपाकै नेताहरूबाट विरोध”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया