ओलीको भैँसी र दूध सिंहदरबारका सीमित व्यक्तिलाई : अनिता देवकोटा

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलेको भैँसीले दिएको दूध सिंहदरबारका लागि मात्रै भएको टिप्पणी गरेको छ ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले प्रधानमन्त्री ओलीको भैँसीले सिंहदरबारमा रहेका सीमित व्यक्तिहरूका लागि मात्रै ब्याएको बताइन् ।

‘प्रधानमन्त्रीज्यूले भैँसीपनि ब्यायो । दूध पनि दियो भन्नुभएको छ । प्रधानमन्त्रीको भैँसी कस्तो ब्यायो ? कस्तो दुध दियो ?’, उनले भनिन्, ‘प्रधानमन्त्रीको भैँसीले सिंहदरबारलाई मात्रै ब्याएको छ । सिंहदरबारका सीमित व्यक्तिलाई मत्रै दूध दिएको छ ।’

भैँसीले ब्याउँदैमा नेपाली गरिव जनताको जीवनस्तरमा परिवर्तन आउन नसकेको कांग्रेसकी सांसद देवकोटाले बताइन् ।

बेरोजगारी भत्ता र रोजगारी कार्यक्रमको उदघाटनमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गरेर भैँसीले ब्याएको र दूध पनि दिएको भन्दै अभिव्यक्ति दिएका थिए ।

दुई तिहाइको बलियो सरकार बनेको एक वर्ष भैसक्दा पनि ओली सरकारले जनताले अनुभूति गर्ने गरी कुनै पनि काम गर्न नसकेको उनले आरोप लगाइन् ।

‘प्रचण्ड बहुमत पाएको यो सरकारले नेपाली जनताको आमूल परिवर्तन गर्न सकेन’, देवकोटाले भनिन्, ‘सरकार निर्माण हुँदै गर्दा भ्रचष्टाचरमा शून्य सहनशीलता हुन्छ भनिएको थियो । शान्ति सुरक्षाको कुरालाई आदर्शका रुपमा लिइएको थियो । प्रगतिशीलको नारा लगाउने सरकार चारैतिरबाट आलोचित र बदनाम भएको छ ।’

नेपाली कांग्रेसकी सांसद देवकोटाले निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्ने सरकारले देशमा कसरी शान्ति सुरक्षा दिन सक्छ भनेर प्रश्न गरिन् ।

‘निर्मला पन्तका दोषीहरू एक हप्ताभित्रै पत्ता लाग्छ भनिएको थियो । यो सरकारको एक हप्ता कति दिनको हुन्छ ?’, उनले भनिन्, ‘देशको शान्ति सुरक्षा बिग्रिएर गएको छ । यो सरकार हरेक क्षेत्रमा असफल हुँदै गएको छ ।’

सात प्रदेशका मुख्यमन्त्रीहरूले अधिकार पाएनौँ भनेर आवाज उठाएको प्रसंग कोट्याउँदै सांसद देवकोटाले भनिन्, ‘सिडियोहरूलाई मुख्यमन्त्रीको मातहतमा राख्नुपर्छ । मुख्यमन्त्रीभन्दा माथि सिडिओहरूलाई राख्न हुँदैन ।’

कम्युनिस्ट सरकारले संसदीय समिति र संसदलाई समेत बेवास्ता गरेर अगाडि बढ्ने गरेको उनले आरोप लगाइन् ।

‘वाइड बडी जहाज खरिदमा भएको अनियमितता ढाकछोप गर्न सरकारले अर्को आयोग बनायो’, उनले भनिन्, ‘यो सरकार वाइड बडी घोटाला, सुनकाण्ड, सिण्डिकेटसहित कम्युनिस्ट सरकार काण्डै काण्डमा फसेको छ ।’ यो तरिकाले सुखी नेपाल र समृद्ध नेपालको नारा पूरा नहुने उनले बताइन् ।

Published : Thursday, 2019 February 14, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया