मान्छे मार्ने माओवादी लोप भयो, ओली बर्बाद हुनुभयोः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकार हरेक क्षेत्रमा पूर्णरुपमा असफल भएको बताएका छन् ।

काठमाडौंको बत्तीसपुतलीमा शुक्रबार नेपाल माओवादी पीडित संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले एक वर्षको दौरानमा ओली सरकार पूर्ण रुपमा असफल भएको बताएका हुन् ।

‘ओली सरकार बनेको एक वर्ष पूरा भएको छ । एक वर्षमा यो सरकार हरेक क्षेत्रमा फेलियर भएको छ’, उनले भने, ‘निर्मला पन्तका बलात्कारी र हत्याहरू छ महिना हुँदा पनि पक्राउ पर्न सक्दैनन् । देशका विभिन्न स्थानमा हत्या, बलात्कारहरू भएका छन् । महँग बढेको छ । अराजकता बढेको छ । शान्ति सुरक्षा छैन ।’

उनले कम्युनिस्ट सरकारका मन्त्रीहरू भ्रष्ट भएको भन्दै आलोचना गरे । ओली सरकारका मन्त्रीहरू क्वाटरमा बसेर भाडा लिएर खाने गरेको बताएका कांग्रेसका नेता खतिवडाले भने, ‘सांसदहरूले पनि घर हुँदा हुँदै घर भाडा लिन्छन् । मन्त्री र सांसदले घर भाडा लिएको विषयमा प्रश्न उठाउँदा शासन व्यवस्थामा प्रहार भयो भनिन्छ । यस्तो अवस्था छ ।’

प्रधानमन्त्री ओली आफैले माओवादी र प्रचण्डलाई बाँदर भनेर आलोचना गरेको प्रसंग उठाएका खतिवडाले भने, ‘केपी ओलीजीले अहिले आफैले बाँदर भनेका प्रचण्ड र माओवादीलाई मिसाएर हिँड्नुभएको छ । ती बाँदरहरूलाई राखेर मन्त्रिमण्डल बनाउनु भएको छ ।’

नेपाली कांग्रेस आफू हारेर पनि देशभरिका जनतालाई हत्या हिंसा गर्ने माओवादीलाई निमिट्यान्न पारेको भन्दै युवा नेता खतिवडाले भने, ‘माओवादी र एमाले भन्ने पार्टी नै छैन । यो हाम्रो उपलब्धि हो ।’ सर्वसाधारण जनताको हत्या गर्ने माओवादी देशबाट लोप भएको भन्दै उनले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान कांग्रेसले ल्याएको बताएका उनले भने, ‘कांग्रेस इतिहाँसका परीक्षाहरूमा उत्तीर्ण हुँदै आएको छ । कम्युनिस्टहरू फेल भएका छन् । फेरि पनि देश बचाउन जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।’

सर्वसाधारण जनताको हत्या गर्ने प्रचण्ड र माओवादीलाई कानूनी कठघारामा उभ्याउनु पर्ने उनले बताए । ‘हामीले सर्वसाधारण जनताको हत्या गर्ने माओवादीलाई कानूनी कठघारामा उभ्याउनै पर्छ’, उनले भने, ‘प्रचण्ड अहिले सुरक्षा घेराभित्र रहेका होलान् । कानूनले प्रचण्डलाई छाड्दैन । कानूनले छाड्यो भने प्रचण्डलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछौँ ।’

कांग्रेसका युवा नेता खतिवडाले प्रचण्ड कानूनसँग डराएर भोगको आरोप पनि लगाए । ‘कानूनदेखि डराएर प्रचण्ड भागेका छन् । कति दिन भाग्दा रहेछन् हामीले पनि हेरेका छौँ’, उनल भने ।

Published : Friday, 2019 February 15, 6:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया