हिन्दूराष्ट्र घोषणा गर्न कम्युनिस्ट सरकारसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दू राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

थापाले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरू हटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न पनि सरकारलाई दवाव दिए ।

पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बुँदे माग सरकारसँग राखेको छ ।

तीमध्ये तत्काल गर्नुपर्ने माग पुरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध सशक्त संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए ।

उनले सरकारलाई माग तत्काल पूरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रमलाई पनि सुरुवात गर्ने घोषणा गरेका छन् ।

फागुन मसान्तसम्म पनि पार्टीले राखेको माग पूरा गर्न सरकार तयार नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने अध्यक्ष थापाले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि पनि पटक पटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको छ । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने जानकारी दिए ।

Published : Sunday, 2019 February 17, 8:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया