ओलीको कम्युनिस्ट सरकारले जनताको विश्वास गुमायोः कांग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पहिलो वर्षमै नागरिकको विश्वास गुमाएको आरोप लगाएको छ ।

ललितपुरको सानेपास्थिट पार्टी मुख्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिस्ट सरकारले जिम्मेवारी पूरा नगरी विश्वसनियता गुमाएको बताए ।

उनले भने, ‘सरकारले ५ वटा विषयमा विश्वासनियता गुमाएको छ । एक वर्षमा संविधान संशोधनको फाइल खोलिएन, डा.गोविन्द केसीसँगको सम्झौता तोडियो, निर्मला पन्त प्रकरणका दोषीलाई बचाउन लागे, बूढीगण्डकी जलविद्युत् आयोजना विदेशी कम्पनीलाई सुम्पे, कांग्रेसले ल्याएको सामाजिक सुरक्षा ऐनको श्रेय लिन असफल होड गरियो ।’

शर्माले सरकार संघीयतालाई कमजोर पार्न नियतवश नै लागेको आरोप लगाए । उनले भने, ‘शक्तिलाई केन्द्रिकृत गरेर प्रधानमन्त्री कार्यालयमा राख्ने कार्य भयो, कर्मचारी समायोजन पूरा गर्ने, प्रदेश सरकारलाई शक्तिशाली बनाउने काममा चुकिरहेको छ । प्रदेश सरकारलाई सिडिओ कार्यालयको छायाँजस्तो बनाउन खोजियो ।’

वर्ष दिनमा पनि संघीयताको बाँकी कार्यभार पूरा गर्न सरकार गम्भीर नभएको शर्माले बताए ।

कम्युनिस्ट सरकारले अझै केही प्रदेशको नामकरण र राजधानी टुंग्याउन नसकेको प्रवक्ता शर्माले बताए ।

उनले लोकतान्त्रिक अवरणमा सरकार रहेपनि अचरणमा चुकेको टिप्पणी गरे ।

प्रेसलाई नियन्त्रित र निरुत्साहित बनाउने काम भएको भन्दै प्रवक्ता शर्माले सरकारको कडा आलोचना गरेका छन् ।

सरकारले सामाजिक सञ्जाललाई नियन्त्रित गरेर जाने विधेयक तयार पारेको प्रति पनि उनले आपत्ति जनाए ।

सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा शुक्रबार प्रधानमन्त्री ओलीले आफ्नो उपलब्धि सार्वजनिक गरेपछि आइतबार कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

Published : Sunday, 2019 February 17, 8:52 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया