यी हुन् अष्ट्रेलियामा विद्यार्थीलाई अलपत्र पार्ने धुन्दुकारी कन्सलटेन्सीहरू

काठमाडौं । नर्सिङ इन डिप्लोमा विषयको सम्बन्धन नै नलिई विद्यार्थी भर्ना गरेर पढाउन सुरु गरेको भन्दै अष्ट्रेलियन इन्ष्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी (एआइबिटी)कलेज खारेजीमा परेपरेसँगै १ हजार भन्दा बढी नेपाली विद्यार्थीको भविश्य अन्योलमा परेको छ ।

अष्ट्रेलियन क्वालिटी अथोरोटी (अस्क्वा) ले शैक्षिक कानुन उल्लघंन गरेको भन्दै एआइबिटीको दर्ता खारेज गरेको थियो ।

सिड्नी र व्रिजबेनमा पढिरहेका झण्डै एक हजार नेपाली विद्यार्थीहरुको भविश्य अन्यौलमा परेपछि शिक्षा मन्त्रालयले प्रहरीसँग समन्वय गरी एआइबिटीमा नेपली विद्यार्थी पठाउने कन्सलटेन्सीहरुमाथि कारबाहीको तयारी गरेको छ ।

मन्त्रालयले विद्यार्थीहरुको व्यवस्थापनको बारेमा अष्ट्रेलिया पठाउने कन्सलटेन्सीहरुसँग छलफल गरी निर्णय गर्ने पनि जनाएको छ ।

नेपालका नाम चलेका एजुकेशन कन्सल्टेन्सीहरुले नै अष्ट्रेलिया पुर्‍याएर नेपाली विद्यार्थीहरुलाई अलपत्र पारेका हुन् । नर्सिङ दर्ता नै नभएको कलेजमा जानाजान विद्यार्थी पठाएर ठगी धन्दा गर्ने कन्सलटेन्सीहरुमाथि कारबाही गर्न विद्यार्थीहरुले माग गरिरहेका छन् ।

नेपाल र अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाताले विद्यार्थीलाई कलेज बारे पूर्ण जानकारी नदिइ ठगी गरेको खुलेको छ । विद्यार्थीलाई भ्रममा पारेर एआइबिटीमा भर्ना गराउने कन्सल्टेन्सीहरुमाथि कानुनी कारवार्ही गर्न दुतावासले समेत पहल गरेको बताइएको छ ।

दर्ता नै नभएको कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाएर केहि कन्सलटेन्सीहरुले अबैध रकम जोडेका छन् । यसरी अबैध रकम जोड्नेमा अष्ट्रेलियामा कालो सूचीमा परेको मर्सी एजुकेशन र काठमाडौं इन्फोसिस मुख्य रहेको छ ।

त्यसैगरी कंगारु एजुकेशन एण्ड फाउण्डेशन, वेभ प्रमिश सर्भिस, अल्फा बिटा, एडमार्क एजुकेशन, काठमाडौं इन्फोसिस, डल्फिन, एबीसी ग्लोबललगायतका कन्सल्टेन्सीहरुले नेपाली विद्यार्थीहरुलाई गलत सूचना दिएर ठगेका हुन् ।

यीमध्ये मर्सी–राम टंडन(इक्यान), कंगारु–महेशबाबु तिमिल्सिना (इक्यान), काठमाडौं इन्फोसिस–राजेन्द्र रिजाल(इक्यान), डल्फिन–प्रेम पाण्डे(आईरिन) नाम चलेका र बढि विज्ञापन गरी विद्यार्थीहरुलाई भ्रममा राख्ने कन्सलटेन्सीहरु हुन् ।

अष्ट्रेलियामा नर्सिङ पढाउने कलेजहरुले अष्ट्रेलियन नर्सिङ एण्ड मिड वाइफरी एक्रिटिडेसन काउन्सिल एनम्याकबाट सम्बन्धन लिनुपर्छ । सम्बन्धन नलिएका कलेजहरुले पढाएको नर्सिङ विषयको कुनै मान्यता हुदैन । तर, हजारौं डलर खर्चेर पनि कन्सलटेन्सीकै गतल परामर्शले पूरा पढ्न नपाएपछि विद्यार्थीहरु अलपत्र परेका हुन् ।

एआइबिटी कलेजमा अध्ययनरत सयौ नेपाली विद्यार्थीको गुनासो सार्वजनिक भएपछि क्यानवेरास्थित नेपाली दुतावास पनि गम्भिर बनेको छ ।

दुतावासले गत शुक्रबार अष्ट्रेलियाको शिक्षा विभागमा पत्र पढाइ एआइबिटी बारे छानविन गर्न माग गरेको छ । शिक्षा विभागले अन्य निकायसँग छलफल गरि कारवाही अगाडी बढाउने जवाफ पठाएको छ ।

विद्यार्थीहरुलाई नआत्तिन पनि दुतावासले अनुरोध गरेको छ । नर्सिङको सम्बन्धन लिने परीक्षणकै क्रममा धमाधम विद्यार्थी भर्ना लिएको सो कलेजको बारेमा यथेष्ट जानकारी नदिएपछि नेपाली विद्यार्थी धोकामा परेका हुन् ।

नेपाली विद्यार्थीबाटै लुटको शैलीमा पैसा असुल्ने नियतका कन्सल्टेन्सीहरुलाई कारवाही गर्नुपर्ने माग बढेको छ । विद्यार्थीहरुले आफूलाई अष्ट्रेलिया पठाउने कन्सलटेन्सीहरुसँग समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै उल्टै कन्सलटेन्सीका सञ्चालकहरुले धम्क्याउने गरेको एक विद्यार्थी बताउँछन् ।

एक विद्यार्थीका अनुसार सुरुमा एआईबीटीको वेभसाईटमा सम्बन्धनको विषयमा ‘अण्डर रजिष्टेसन’ भनेर लेखिएको तर अहिले त्यो पनि उल्लेख छैन । उक्त सूचना बारे अधिकांश कन्सलटेन्सीहरुलाई जानकारी हुँदा पनि विद्यार्थीहरुलाई भने ढाँटेर अष्ट्रेलिया पठाइएको थियो ।

Published : Thursday, 2019 February 21, 6:44 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया