विप्लवका नेताले वीपी कोइरालाको प्रशंसा गरेपछि दङ्ग परे कांग्रेसका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय नेता वीपी कोइरालाले जहिले पनि आफ्नो प्रशंसाभन्दा पनि आलोचनाहरू रुचाउँथे । केही उदारवादी कम्युनिस्ट नेताहरूले समेत वीपी कोइरालाको त्यो आचरणलाई अनुसरण गर्दै आएका छन् ।

आलोचनाबाट नै आफूलाई सुधार गर्न सकिने वीपी कोइरालाको मान्यता थियो । वीपी कोइरालाले आफ्नो प्रशंसा गर्नेहरूलाई रुचाउँदैन थिए । कुनै पनि कुराको वैधानिक तर्क र आलोचनाहरू सुन्न रुचाउने गरेको नेपाली कांग्रेसका नेता दीपक गिरीले बताए ।

‘वीपी कोइरालामा रहेको गुण अहिलेका कांग्रेसका धेरै नेताहरूमा छैन । आलोचना सुन्न मन पराउने नेताका रुपमा वीपी कोइराला हुनुहुन्थ्यो’, गिरीले भने, ‘कम्युनिस्टहरू त झन् आफ्नो आलोचना सुन्नै चाहँदैनन् । प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आलोचना गर्नेहरूलाई छेउँछाउँ पर्नै दिनु हुन्न । प्रशंसा गर्नेहरूको घेराभित्र बस्नुभएको छ ।’

‘वीपी कोइराला आफूसित भेट्न आउने साथीहरूसित भन्थे रे – तपाईको वरीपरी चियापसल, गल्ली वा सडकमा मेरो बारेमा के कुरा हुन्छ ? नेपाली कांग्रेस र मलाई के–के भनेर गाली गर्छन् ? भनेर सोध्नु हुन्थ्यो’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेकपाका नेता खेम थपलियाले भनेका छन् ।

थपलियाले भनेका छन्, ‘भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले भन्थे रे – मलाई मेरा प्रशंसक होइन, आलोचकको आवश्यकता छ, जसले मलाई करेक्सन गर्न सकोस् । अमेरिकी राष्ट्रपति भवनका उच्च पदाधिकारीहरू ह्वाइटहाउसका कडा आलोचक तथा प्रसिद्ध भाषा वैज्ञानिक नोम चम्स्कीको बारेमा भन्दा रहेछन् – चम्स्की त हाम्रा मुटुका धमनी हुन् ।’

‘तर, नेपालका ‘कम्युनिस्ट’ नेताहरू आलोचकहरूमाथि अन्धाधुन्ध खुँडा चलाउँछन्’, सञ्चारकर्मी एवम् साहित्यकार समेत रहेका नेकपाका नेता थपलियाले फेसबुकमार्फत भनेका छन् ।

विशेष गरेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आलोचना सुन्नबाट धेरै टाढा रहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीका साथै मन्त्रिपरिषदमा रहेका मन्त्रीहरू आफ्नो आलोचना सुन्नै नसक्ने अवस्थामा रहेको थपलियाले टिप्पणी गरेका छन् ।

आलोचना सुन्न नसकेकै कारण सामाजिक सञ्जालका साथै अनलाइनहरूलाई कडाइ गर्न थालिएको उनले जनाएका छन् ।

Published : Thursday, 2019 February 21, 12:14 pm

1 प्रतिकृया प्राप्त “विप्लवका नेताले वीपी कोइरालाको प्रशंसा गरेपछि दङ्ग परे कांग्रेसका नेताहरू”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया