नेकपामा प्रचण्डलाई दोस्रो स्थान, खुसी भए अरिँगालहरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेदभाव गरिएको छ ।

कैलाली जिल्लाको धनगढीमा बुधबार आयोजित पार्टीको कार्यक्रममा दुइटा अध्यक्षलाई बराबरीको हैसियत बनाउनुपर्नेमा आयोजकले ओली र प्रचण्डलाई अलग अलग बस्ने व्यवस्था गरेर भेदभाव गरेका हुन् ।

ओलीलाई सिङ्गल सोफाको व्यवस्था गरिएको थियो । प्रचण्डलाई दुई जना बस्न मिल्ने सामान्य खालको सोफाको व्यवस्था थियो ।

कार्यक्रममा ओलीले ‘एउटा जंगलमा दुइटा शेर मिलेर बसेका छौँ’ भनेपनि कार्यक्रममा पूर्वमाओवादीका कार्यकर्ताले ओलीको भनाइलाई पत्याएका थिएनन् ।

नेकपा निकटका वरिष्ठ पत्रकार खेमभण्डारील फेसबुकमा स्टाटस लेखेर भनेका छन्, ‘पार्टी कार्यक्रममा दुई अध्यक्षको एउटै कुर्सी (क्याब) भए राम्रो हुने थियो । यो तस्विरले अर्कै बोलिरहेको छ ।’

भण्डारीले अगाडि लेख्छन्, ‘मैले पार्टी एकीकरणकै बेला प्रचण्ड कमरेडलाई सह–अध्यक्ष भन्नुपर्छ भन्दा अरिंगाल बन्नेहरूले अब थाहा पाउने भए विस्तारै ।’

कार्यक्रमको समाचार पनि प्रधानमन्त्री ओलीको सचिवालयले ओलीको मात्रै पठाएको छ । त्यो समाचारमा प्रचण्ड र अन्य नेताहरूले बोलेका कुरा राखिएको छैन ।

पार्टी एकीकरणका बेला तत्कालीन एमालको पार्टी मुख्यालय धुम्बाराहीमा ओली बस्ने कुर्सी नजिकै अर्को कुर्सी लगेर दुबै अध्यक्षको हैसियत बराबरी हो भनेर देखाउन खोजिएको थियो ।

तर, नेकपाका अध्यक्ष ओली र उनका सहयोगीहरूको व्यवहार प्रचण्डलाई दोस्रो तहका अध्यक्ष भनेर देखाउनमै तल्लिन रहेको भनेर टिप्पणी हुन थालेको छ ।

धनगढीमा प्रचण्ड र ओलीलाई बस्न बनाइएको मञ्चको व्यवस्थाबाट माओवादीका नेता तथा कार्यकर्ताहरूको मन कुडिएको छ ।

Published : Thursday, 2019 February 21, 12:56 pm

2 प्रतिकृया प्राप्त “नेकपामा प्रचण्डलाई दोस्रो स्थान, खुसी भए अरिँगालहरू”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया