कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन

काठमाडौं । नेपाली कांग्रेसका महासमिति बैठकले सुझावसहित पठाएको पार्टीको नयाँ विधान मस्यौदा लगायतका विभिन्न प्रस्ताव पारित गराउने विषयमा पार्टीभित्र सहमति हुन नसकेपछि बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय सानेपामा बिहीबार बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको हो । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा पदाधिकारी र शीर्ष नेताहरूको अनौपचारिक बैठक बसे पनि विधानमा कुनै सहमति भएको थिएन ।

बिहीबार १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका पार्टी पदाधिकारी तथा गुटगत नेताहरूबीच विधान मस्यौदा, राजीतिक प्रस्ताव लगायतका पाँचवटा प्रस्ताव तत्काल पारित गरी संगठनका गतिविधि अघि बढाउने विषयमा अनौपचारिक छलफल भएको थियो ।

सभापति देउवालाई आफू निकट नेताहरूले अब धेरै अलमल गरी समय मात्र गुजार्ने भन्दा छिटो गरी विधान लगायतका विषय टुंग्याउन सुझाव दिएका थिए ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले विधानका कतिपय विषयमा असहमति जनाउँदै सर्वसम्मत प्रस्ताव अनुमोदनको लागि असहमति जनाएका छन् ।

त्यसका बाबजूद पनि कतिपय नेताहरुले सकभर सहमतिमा र नभए लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्णयमा पुग्न सभापतिलाई सुझाव दिएका थिए ।

उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले अर्को पक्षका नेताहरूसँग परामर्श गरी त्यसको केही बेरपछि पदाधिकारीको अनौपचारिक छलफल बसालेका थिए ।

अपरान्ह ४ बजे पदाधिकारीहरूको छलफल पश्चात पार्टी मुख्य सचिवले बैठक कुरेर बसेका सदस्यहरूलाई बिहीबारको बैठक नबस्ने भन्दै फागुन १२ गते ११ बजे बैठक बस्ने जानकारी दिइएको थियो ।

पार्टीको हालै सम्पन्न महासमिति बैठकबाट राय सुझावसहित पारित भएको पार्टीको विधान मस्यौदा, राजीतिक, आर्थिक प्रस्ताव लगायतका विभिन्न प्रस्तावका अतिरिक्त नेपाल विद्यार्थी संघको विषयमा छलफलका लागि माघ १० गतेदेखि सुरु भएर निरन्तर जारी छ ।

Published : Thursday, 2019 February 21, 7:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया