देउवालाई उदृत गर्दै गगनले ठहरै बनाएपछि कम्युनिस्ट मन्त्रीलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘कम्युनिस्टहरूले जिते भने अधिनायकवाद आउँछ, रुन पनि पाइँदैन’ भन्ने गरेको अभिव्यक्ति शुक्रबारको संसदबाट पुष्टि हुने क्रममा अगाडि बढेको छ ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल नियमन गर्ने बहानामा नियन्त्रण गर्न बनेको विधेयक संसदमा पेश गरेपछि नेपाली कांग्रेसले अधिनायकवादले जरो गाड्न थालेको बताए ।

नेपाली कांग्रेसका सांसदहरूले कम्युनिस्ट सरकारले अधिनायकवादी चरित्र देखाउन थालेको भन्दै सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको विरोध गरे । कांग्रेसका सांसदहरूले नियमनको नाममा सामाजिक सञ्जाल नियन्त्रण गर्न थालिएको आरोप लगाए ।

नेपाली कांग्रेसका सांसदहरू पुष्पा भुसाल, गगन थापा, डिला संग्रौला पन्त, दीव्यमणि शाहले कम्युनिस्ट सरकारले सदनमा पेश गरेको विधेयकको विरोध गरे । उनीहरूले विधेयकमाथि संसदमा छलफल गरेर मात्रै केही नहुने भन्दै सडकबाट यसलाई फाल्नुपर्ने बताए ।

तर, नेकपाका सांसदहरूले सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकको खुलेर प्रशंसा गरे । विधेयकको समर्थन गर्दै अभिव्यक्ति दिने नेकपाका सांसदहरूमा योगेश भट्टराई, खगराज अधिकारी, महेश बस्नेत, विमला विक, रेणुका गुरुङ, सूर्यप्रसाद पाठकलगायतका थिए ।

संसदमा विधेयकमाथि छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ दिने क्रममा कम्युनिस्ट सरकारका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसको आलोचना गरे । उनले विशेष गरेर गगन थापामाथि केन्द्रित भएर लामो जवाफ दिएका थिए ।

बास्कोटाले कम्युनिस्टहरूलाई जनताले मन पराएर दुई तिहाइ भोट दिएकाले कांग्रेसले पनि त्यो कुरालाई स्वीकार गरेर मान्नुपर्ने बताए ।

‘हामी कम्युनिस्टहरूलाई जनताले मन पराएका छन् । दुई तिहाइ भोट दिएका छन् । कम्युनिस्ट र दुई तिहाइको दम्भ भनेर सधैँ आलोचना गर्नुपर्ने आवश्यक्ता कांग्रेसलाई छैन’, उनले भने, ‘आलोचना मात्रै गर्ने हो भने कांग्रेसलाई सलाम छ ।’

संसदमा अत्यन्तै कठोर र रुखो जवाफ दिएका मन्त्री बास्कोटाले सामाजिक सञ्जालका कारण समाजमा ठूलो बिग्रह आएको बताउँदै नेपालमा दर्ता भएपछि मात्रै चलाउन पाइने जानकारी दिए ।

Published : Saturday, 2019 February 23, 5:32 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया