सुजाताको फैसलाले देशभरिका कांग्रेस कार्यकर्ताको मुटु हल्लायो

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको पछिल्लो अभिव्यक्तिले देशभरिका नेता तथा कार्यकर्ताको मनमा चिसो प्रवेश गराइदिएको छ ।

नेतृ कोइरालाको अभिव्यक्तिपछि कांग्रेसका गाउँका कार्यकर्ताले चिन्ता जनाएका छन् ।

नेपाली कांग्रेसको नेतृत्व कोइराला परिवारले लिने कि बाहिरबाट लिने भन्ने विषयमा बहस भैरहेका बेला कांग्रेस नेतृ कोइरालाले आफू सक्रिय राजनीतिबाट केही पछाडि हटेको संकेत गरेकी छिन् ।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी समेत रहेकी कोइरालाले कांग्रेसको सक्रिय राजनीति गर्न आफूभित्र लोभ नरहेको बताएकी हुन् । उनले सक्रिय राजनीति नगर्ने बताएकी छिन् ।

आफ्नो स्वास्थ्यका कारण कांग्रेसलाई सहयोग गर्ने तर सक्रिय राजनीति नगर्ने बताएकी हुन् ।

नेपाली रेडियो नेटवर्कको बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा नेतृ कोइराला कांग्रेसको सभापति वा अन्य पदाधिकारीमा आफूले उम्मेदवारी नदिने बताइन् ।

उनले कांग्रेसको नेतृत्व कोइराला परिवारले नै पाउनुपर्छ भन्ने मान्यतामा आफू नरहेको बताइन् । नेतृ कोइरालाले भनिन्, ‘कांग्रेसलाई बुझेको नेता तथा कार्यकर्ता चिन्न सक्ने । सिद्धान्तलाई पालना गर्ने । देश र जनताप्रति इमान्दार व्यक्तिले कांग्रेसको नेतृत्व लिनुपर्छ ।’

कांग्रेसभित्र सुद्धीकरण आवश्यक रहेको कोइरालाको भनाइ छ । ‘कांग्रेसलाई ठूलो र मजबुद पार्टी बनाउन सबै नेताहरू मिलेर जानुपर्छ’, उनले भनिन्, ‘कांग्रेसले मात्रै विकास गर्छ । देश र जनताको इच्छा बुझ्न सक्छ ।’

कांग्रेस पार्टीका मुख्य पदमा नबस्ने भन्दैमा आफू कांग्रेसबाट बाहिर जान खोजेको अर्थ नलगाउन पनि उनले आग्रह गरिन् ।

‘मलाई कांग्रेसको सभापति, पदाधिकारी, प्रधानमन्त्री वा मन्त्री कुनै पनि पद चाहिएको छैन । कांग्रेस बलियो हुनुपर्छ । कांग्रेसलाई बलियो बनाउनुपर्छ’, नेतृ कोइरालाले भनिन्, ‘जीपी कोइराला फाउण्डेसनतिर लागेको छु । मेरो स्वास्थ्यले पनि सक्रिय राजनीति गर्न साथ दिँदैन । बाहिर जाँदा इन्फेक्सन हुन्छ ।’

नेतृ कोइरालाले कांग्रेसलाई मिलाएर लैजान सबैसँग अपील गरिन् । नेपाली कांग्रेसका केही नेताहरूले पार्टीलाई नै असर पर्ने गरेर दिएका अभिव्यक्तिप्रति उनले असन्तुष्टि जनाइन् ।

Published : Sunday, 2019 February 24, 11:10 am

2 प्रतिकृया प्राप्त “सुजाताको फैसलाले देशभरिका कांग्रेस कार्यकर्ताको मुटु हल्लायो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया