सिटौला समूहले देखायो कहिँ नभएको जात्रा, कांग्रेसको बेइज्जत

काठमाडौं । तदर्थ समिति गठन गर्न माग गर्दै आएको नेपाल विद्यार्थी संघ (नेविसंघ)का दुई समूहबीच नेपाली कांग्रेसको कार्यालय सानेपामा इँटा हानाहान भएको छ ।

सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका विद्यार्थी समूहबीच आइतबार दिउँसो झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गरेको थियो । सिटौला समूहका विद्यार्थीले भाँडभैलो गरेका थिए ।

फागुन ९ गते नेविसंघ कार्यकर्तासँग उपसभापति विमलेन्द्र निधि र सहमहामन्त्री प्रकाशशरण महतको विवाद भएको थियो । नेविसंघभित्र अराजकता हावी भएको भन्दै अनुशासनको कारबाही गर्न माग गर्दै देउवा निकट नेविसंघले पार्टी कार्यालयमा मौन प्रदर्शन गरेको थियो ।

नेविसंघ नेता ऋषिकेशजंग शाह नेतृत्वले गरेको मौन प्रदर्शनमा उनीहरूले लिएका व्यानर अर्को समूहले च्यातेपछि इँटा हानाहान भएको हो ।

प्रहरीको लाठी र इँटा प्रहारबाट निवर्तमान सहमहामन्त्री बद्री मुडबडी, दीपेन्द्र क्षेत्री,दिवाकर अर्यालसहित देउवा–सिटौला समूहका नेविसंघ कार्यकर्ता घाइते भएका छन् ।

निवर्तमान महामन्त्री कुन्दन काफ्ले समूहका नेविसंघ नेता सुशील भट्टले तदर्थ समिति गठनका लागि माग गर्न दबाब दिन माग गर्दा आक्रमण भएको बताए ।

विधानमा उल्लेख भएअनुसार नै ३२ वर्षे उमेरहद कायम गर्न सिटौला समूहले माग गर्दै आएको छ ।

देउवा समूहका विद्यार्थी नेताहरू भने १२ औं महाधिवेशनबाट मात्रै ३२ वर्षे उमेरहद लागू गर्नुपर्ने बताउने गरेका छन् ।

महाधिवेशन गराउनका लागि बन्ने तदर्थ समितिमा उमेरहद लगाउने वा नलगाउने भन्ने बहस कांग्रेस केन्द्रीय समिति बैठकमा पनि छ ।

नेविसंघ सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ । २० जिल्लामा अधिवेशन भए पनि क्याम्पस, जिल्ला, प्रदेशहरुमा नेविसंघको संगठन रिक्त छ ।

Published : Sunday, 2019 February 24, 4:51 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया