बम विष्फोट गराउने धुन्दुकारीहरूलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले देशका केही स्थानमा भएका बम विष्फोटका घटना र जनधनको क्षतिप्रति गम्भीर रुपमा लिँदै ती घटनाहरूलाई आततायीको संज्ञा दिएको छ ।

ललितपुरको सानेपामा आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितको बैठकले बम विष्फोटमा परी ज्यान गुमाएका लमजुङका सिंहप्रसाद गुरुङप्रति श्रद्धाञ्जलि र परिवाजनमा समवेदना प्रकट गरेको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक हालै देशका केही स्थानमा भएका बम विष्फोटका घटना र त्यसबाट भएको जनधनको क्षतिलाई गम्भीर रुपमा लिंदै त्यसप्रति गहिरो दुःख व्यक्त गर्दछ र यस्तो आततायी कामको घोर निन्दा गर्दछ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

‘घटनामा जीवन गुमाएका लमजुङका सिंहप्रसाद गुरुङको आत्माको चीर शान्तिको कामना गर्दछ’, नेपाली कांग्रेसले भनेको छ, ‘यो बैठक सिंहप्रसाद गुरुङको परिवारप्रति समवेदना प्रकट गर्दै तत्काल राहत रकम उपलब्ध गराउन र सबै घाइतेको सम्पूर्ण उपचार निःशुल्क गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

एनसेलका कैयन टावरहरूमा पु¥याइएको क्षतिले केवल सो संस्थालाई मात्रै असर पुग्ने होइन राष्ट्रकै सम्पत्ति नष्ट हुने विषयप्रति गम्भीरता जरुरी रहेको कांग्रेसले जनाएको छ ।

‘दशक लामो हिंसाबाट भर्खरै मुक्त भएर शान्तिपूर्ण ढंगले अघि बढ्ने क्रममा रहेको हाम्रो देशमा यो या त्यो वाहानामा फेरि पनि हिंसाले प्रवेश पाउनु अत्यन्तै दुःखद् छ’, कांग्रेसले भनेको छ, ‘सरकार यसप्रति गम्भीर बनोस्, शान्ति सुरक्षा कायम गर्न यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै जोडदार माग गर्दछ ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बम विष्फोट गराउँदा ललितपुरका एकजनाको ज्यान जानुका साथै दुई जना महिला घाइते भएका छन् ।

बम विष्फोटको घटनाको सबैले बिरोध गरेका छन् । दोषीलाई कारबाहीको माग पनि गरेका छन् ।

Published : Sunday, 2019 February 24, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया