गगनले कुरा उठाएपछि देउवाले दिए स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले हालै वीरगंजको एक कार्यक्रममा पार्टी नेता डा.शेखर कोइरालाको विषयमा दिएको अभिव्यक्तिबारे केन्द्रीय कार्यसमितिमा थप स्पष्टीकरण दिएका छन् ।

ललितपुरको सानेपामा आइतबार बसेको बैठकमा केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीभित्र आपसमा भएका असहमति केन्द्रीय समितिभित्रै राखेर मन माझामाझ नगरी सार्वजनिक कार्यक्रममा नै नेताहरूबीच आरोप प्रत्यारोपको प्रवृत्तिले आम कार्यकर्तामा नकरात्मक सन्देश गएको धारणा राखेका थिए ।

केन्द्रीय कार्यसमितिभित्र असहमति राख्दा सभापति पक्षका कतिपय सदस्यहरूले अरिंगाल शैलीमा झम्टिएर कुरा राख्न नदिने गरेको कारण आफू लगायतका कतिपय नेताहरूले पनि पार्टीभित्रका कुरा बाहिर राख्दै आएपनि पछिल्लो समय नेतृत्व समेत त्यो प्रतिस्पर्धामा उत्रिएपछि यो प्रवृतिले शिखर नै चुमेको भन्दै यसबारे कांग्रेसभित्र पनि समीक्षा गर्ने बेला आएको धारणा राखेका थिए ।

‘होला मसहित अन्य कतिपय नेताले पनि बाहिर आफ्ना असहमति राख्यौँ र सभापतिजीले पनि राख्नु भएको समाचार आयो । यसरी आपसका असहमति पार्टीभित्रैको फोरममा राखेर पार्टीभित्र अनुशासन र मर्यादा कायम नगर्ने हो भने यसले पार्टी कार्यकर्ता र आम जनतामा निराशा छाँउछ’, थापाको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

डा.शेखर कोइरालाको विषमया वीरगंजको कार्यक्रममा बोलेको विषयमा गगनले प्रश्न गरेपछि त्यसको जवाफमा दिँदै सभापति देउवाले आफूले शेखर कोइरालालाई पटक पटक पार्टीभित्रको विषय बाहिर नबोल्न आग्रह गर्दा पनि नमानेपछि बाध्य भएर आफूले बोलेको बताएका छन् ।

‘मैले दुई पटक त शेखरलाई मेरै घरमा बोलाएर तपाई जस्तो व्यक्तिले बाहिर मिडियामा विवादित कुरा नगर्नुहोस् भनेर सम्झाँए । उहाँलाई मैले के गरिन ? हातै जोडेर तपाईले सभापतिको विषयमा केही भए भित्रै भन्नुहोस् बाहिर मिडियामा सार्वजनिक रुपमा नबोल्नुहोस्’, देउवाले केन्द्रीय कार्यसमितिमा दिएको स्पष्टीकरणबारे स्रोतले भन्यो ।

‘सभापति व्यक्ति होइन, संस्था हो भनेँ । तर, उहाँलाई हात खुट्टा ढोग्ने गरीभन्दा पनि बोल्न नछोडेपछि म बाध्य भएर हामी हिँजो जेल पर्दा र टाउको फोडिँदा उहाँ कहाँ हुनुहुन्थ्यो भने’, देउवाले बैठकमा भनेका थिए ।

Published : Sunday, 2019 February 24, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया