नुवाकोटमा कांग्रेस ध्वस्त बनाउने केसी दाजुभाई देउवाविरुद्ध सक्रिय

काठमाडौं । नेपाली कांग्रेसको ‘गढ’ मानिने नुवाकोट जिल्लालाई आन्तरिक विवाद र परिवारवादका कारण ध्वस्त बनाएका अर्जुन नरसिंह केसी र जगदीश्वर नरसिंह केसीका दाजुभाईले सभापति शेरबहादुर देउवाको व्यक्तिगत रुपमा विरोध थालेका छन् ।

केन्द्रीय सदस्य र पदाधिकारीहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउन नहुने कुरालाई उठाएर केसीका दाजुभाईले देउवाविरुद्ध अभियान नै चलाएका छन् । केन्द्रीय सदस्यहरू बुथमा प्रतिनिधि बन्न जाने हो भने अरु कार्यकर्तालाई महासमिति सदस्य बन्ने बाटो बन्द हुनेछ ।

त्यति मात्रै होइन अहिलेको कन्द्रीय कार्यसमितिमा देउवाको बहुमत छ । आगामी महाधिवेशनमा ७० जनाभन्दा धेरै महाधिवेशन प्रतिनिधि केन्द्रीय कार्यसमितिका कारण देउवाको पक्षमा हुनेछन् । त्यही प्रतिनिधिहरूलाई रोक्न केसीका दाजुभाई सक्रिय भएर लागेको आरोप छ ।

केसी दाजुभाईले नेपाली कांग्रेस सुधारका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा सभापति देउवाको कठोर आलोचन गर्न थालेको आरोप छ ।

नुवाकोट जिल्लामा केसी समूहले कांग्रेसलाई कब्जा गरेर राखेकै कारण दिन प्रतिदिन कांग्रेस जिल्लामा कमजोर बन्दै गएको छ । नुवाकोट जिल्लाको सभापति जगदीश्वर नरसिंह केसी छन् ।

केसी समूहका कारण नुवाकोटमा नेपाली कांग्रेसले निर्वाचनमा नराम्रोसँग पराजय भोग्न बाध्य भएको उजुरी पार्टी कार्यालयसम्म पुगेको थियो ।

व्यक्तिगत स्वार्थका लागि महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका अर्जुन नरसिंह केसी पराजित भएपछि देउवा समूहको विरोध गर्दै आएका छन् । केसीले समूह परिवर्तन गरेर नेता रामचन्द्र पौडेललाई साथ दिँदै आएका छन् ।

नुवाकोट जिल्लामा केसी समूहले डा.रामशरण महत समूहलाई पेल्दै आएको छ । डा.महत समूहलाई पेल्ने बहानामा केसी समूहले कांग्रेसलाई ध्वस्त बनाएको आरोप छ । नेपाली कांग्रेसका लागि केसी परिवारभन्दा महत परिवार उदार रहेको स्थानीय नेता तथा कार्यकर्ताहरूको भनाइ छ ।

यद्यपि, पछिल्लो समय नुवाकोट जिल्लामा डा.महतको समूहले आफूलाई बलियो बनाएर लगेको छ । जिल्ला महाधिवेशन भयो भने केसी समूहको हातबाट नेतृत्व फुत्किने पक्का रहेको एक नेताले बताए ।

Published : Monday, 2019 February 25, 10:10 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया