विश्वप्रकाशले खोलिदिए ओली सरकारको हैसियत

रसुवा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले एक वर्षभित्र भान्सामा के पकायो भन्ने कुरा कसैले पनि थाहा पाउन नसकेको टिप्पणी गरेका छन् ।

रसुवा जिल्लामा सोमबार पार्टी प्रवेशको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका प्रवक्ता शर्माले एक वर्षमा कम्युनिस्ट सरकारको भान्सामा पाक्ने के कुरा थियो भन्ने नै कसैले जानकारी नपाएको बताए । उनले भात पकाउन पनि भाँती चाहिने बताए ।

शर्माले प्रधानमन्त्री ओलीलाई काम गर्ने कुनै पनि ढंग नरहेको भन्दै देश चलाउन पनि भाँती चाहिने उल्लेख गरे । ‘भारत पकाउन पनि चार कुराको आवश्यक्ता पर्छ । भात पकाउन भाँडो, चामल, पानी र आगो चाहिन्छ’, उनले भने, ‘पानी धेरै भयो भने भात गिलो हुन्छ । आगो धेरै भयो भने भात जल्छ ।’ प्रवक्ता शर्माले वर्तमान सरकार त्यही भात पकाउने अवस्थामा पनि नरहेको बताए ।

मुलुकको विकासका लागि नेपाली कांग्रेस नै आवश्यक रहेको उनले बताए । ‘कांग्रेसले काम ढिलो गर्छ तर, विकास गरेरै छाड्छ’, उनले भने, ‘कम्युनिस्टहरू भनेका आश्वासन धेरै बाँड्छन् । छिटो गर्छु भन्छन् । तर, काम गर्दैनन् ।’

कांग्रेसका प्रवक्ता शर्माले कम्युनिस्टहरूका चर्का कुरा र भाषण तथा खोक्रो आश्वासनले देश नबन्ने बताए । देश बनाउन कांग्रेसले नै नेतृत्व गर्नुपर्ने बताएका छन् ।

शर्माले नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरे भन्दैमा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईलाई चित्त नदुखाउन आग्रह गरेका छन् ।

‘नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले चित्त दुखाउँदै सोधे भने आफूहरू कांग्रेसको काखमा गएको भन्नु होला’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘प्रचण्ड र बाबुरामलाई जंगलबाट काँधमा बोकेर शहर पसाएको कांग्रेसकै काखमा आफूहरू गएकोमा अन्यथा नमान्न बाबुरामजीलाई भन्नु होला ।’

Published : Monday, 2019 February 25, 8:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया