पौडेल समूहद्धारा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेलेर जान खोजेको भन्दै नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाउँदा केन्द्रीय कार्यसमिति बैठक प्रभावित बनेको छ ।

ललितपुरको सानेपामा मंगलबार दिउँसो एक बजेका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक यो समाचार तयार पार्दासम्म बस्न सकेको छैन । असन्तुष्ट समूहका नेताहरु नेता पौडेलको कार्यकक्षमा बसेका छन् ।

देउवा समूह भने बैठक हलमा बसेको छ । पौडेल समूह बैठक कक्षमा प्रवेश नगरेका कारण केन्द्रीय कार्यसमिति औपचारिक रुपमा बस्न नसकेको हो ।

देउवाले पेलेर बहुमतका आधारमा अनुशासन आयोग बनाउन खोजेको भन्दै पौडेल समूहले बैठक बहिस्कार गरेर अर्को कोठामा बसेका छन् ।

पौडेल समूहले अनुशासन आयोगका विषयमा बखेडा निकालेको देउवा समूहले जनाएको छ । पाँच सदस्सीय समितिमा देउवाले संयोजक सहित दुई वटा सदस्य आफूले राखेका छन् । देउवाले पौडेल समूहलाई दुई वटा सदस्य दिएका छन् ।

तर, पौडेल समूहले अनुशासन समितिको हरेक निर्णय सर्वसम्मत हुनुपर्ने अडान राखेपछि देउवा समूह झस्किएको हो ।

देउवाले अनुशासन समितिमा भीष्मराज आङदेम्बेलाई संयोजक बनाउन खोजेका छन् । देउवाले सदस्यहरुमा आफ्नो तर्फबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठोरलाई अगाडि सारेका छन् ।

पौडेल समूहलाई देउवाले दिएको दुई जना सदस्यको नाम दिइएको छैन । कृष्णप्रसाद सिटौला समूहले पनि अनुशासन समितिमा भाग खोजेको छ ।

Published : Tuesday, 2019 February 26, 2:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया