ट्वाइलेटमा लडेपछि मन्त्री अस्पताल भर्ना, भेट्न पुगे ओलीसहितका भीभीआइपी

काठमाडौं । कम्युनिस्ट सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अस्पताल भर्ना भएका छन् ।

ललितपुरको पुल्चोकस्थित मन्त्री क्वाटरको ट्वाइलेटमा रिंगटा लागेर लडेपछि मन्त्री पुनलाई थापाथलीस्थित सुविधा सम्पन्न एक निजी अस्पतालमा भर्ना गरिएको निजी सचिव दुर्गाप्रसाद चापागाइँले जानकारी दिएका छन् ।

चिकित्सक डा.यादव भट्टसहितको टोलीले मन्त्री पुनको उपचार गरिरहेको छ । डा.भट्टका अनुसार मन्त्री पुनको ब्लड प्रेसर सामान्य छ ।

मुटुको धड्कनमा केही तलमाथि भएपनि अवस्था सामान्य रहेको डा.भट्टले बताए । मन्त्री पुन हिँडडुल तथा बोलचाल गर्न सक्ने सामान्य अवस्थामा छन् ।

मन्त्री पुनलाई शुक्रबारसम्म अस्पतालमा नै चिकित्सकहरूको निगरानीमा राखिनेछ ।

मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली अस्पताल पुगेका थिए ।

अस्पतालमा पुगेर सभामुख कृष्णबहादुर महरा, कानूनी मन्त्री भानुभक्त ढकाल, नेकपाका नेता जनार्दन शर्मा लगायत नेताहरूले पनि मन्त्री पुनको अवस्थाको जानकारी लिएका छन् ।

सार्वजनिक विदा परेका कारण मन्त्री पुन बिहीबार दिनभरि क्वाटरमा भेटघाटमा व्यस्त थिए ।

अपरान्ह ३ बजे बुधबार दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई श्रद्धाञ्जलि प्रदान गर्न सैनिक मञ्च जाने तयारीमा रहेका मन्त्री पुन अचानक ट्वाइलेटमा चक्कर लागेर लडेका हुन् ।

Published : Thursday, 2019 February 28, 9:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया