कांग्रेसका युवा नेताको गोली हानी हत्या, कारबाही गर्न माग

काठमाडौं । सर्लाही जिल्लामा नेपाल विद्यार्थी संघका नेतालाई गोली हानेर हत्या गरेको भन्दै नेपाली कांग्रेसले दोषीलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेसले आइतबार विज्ञप्ति जारी गरेर सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ८ का ३१ वर्षीय मनोज यादवलाई अज्ञात समूहले गाली हानेर हत्या गरेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

तत्कालीन फोरम लोकतान्त्रिक निकट विद्यार्थी संगठनको सर्लाही जिल्ला अध्यक्ष रहेका यादव पार्टी समायोजन भएसँग नेपाली कांग्रेसमा सक्रिय थिए ।

‘सर्लाही सदरमुकाम मलंगवामा शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेर मलंगवा नगरपालिका वडा नं. ८ का ३१ वर्षीय मनोज यादवको हत्या गरेको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘तत्कालीन लोकतान्त्रिक विद्यार्थी फोरम, सर्लाहीको विद्यार्थी संगठनमा अध्यक्ष समेत रहेका यादवलाई शनिबार राति ९ बजे अज्ञात समूहले फोन गरी बोलाएको र मलंगवा नगरपालिका वडा नं. ८ शीतभण्डार नजिक सडक छेउमा गोली प्रहार गरेर विभत्स तवरले हत्या गरेका थिए’, कांग्रेसले भनेको छ ।

नेपाली कांग्रेस उक्त घटनाको घोर निन्दा र भत्र्सना गरेको छ ।

घटनामा संलग्न आपराधिक व्यक्तिहरूको तत्काल खोजी गरी उनीहरूलाई कडाभन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ ।

कांग्रेसले स्वर्गीय यादवप्रति गहिरो दुःख व्यक्त गरेको छ । साथै, यादवको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेसले समवेदना प्रकट गरेको छ ।

Published : Sunday, 2019 March 3, 9:02 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया