कम्युनिस्ट मन्त्री र जनप्रतिनिधिहरू कमाउ धन्दामा लागेः डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारका मन्त्री र जनप्रतिनिधिहरू सुविधा भोगी भएको भन्दै राज्यको ढुकुटीबाट फजुल खर्च नगर्न चेतावनी दिएको छ ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले कम्युनिस्ट सरकारका मन्त्रीहरू विलाशी भएको बताए ।

‘अहिलेका मन्त्री र अधिकांश जनप्रतिनिधिहरू सुविधा भोगमा लिप्त भएका छन् । राज्यको ढुकुटीबाट फजुल खर्च गर्ने कुरा यो राम्रो होइन ।’

सत्तामा रहेका राजनीतिक नेतृत्वहरू आफ्नो आम्दानी बढाउने मूलधारमा देखिएको उनले आरोप लगाए । कम्युनिस्ट सत्ताको गलत नीतिका कारण देशबाट वैदेशिक लगानी घटेको समेत डा.महतले उल्लेख गरे ।

‘देशमा लगानीको वातावरण बन्नुपर्छ । लगानीको वातावरण भित्र्याउन सहि निर्णय गर्नुपर्छ’, नेपाली कांग्रेसका नेता डा.महतले भने, ‘संविधान र विधिको शासन हुनुपर्छ । कम्युनिस्टहरूको गलत नीतिका कारण ठूला कम्पनीहरूले देश छाड्ने कुरा चलेको छ ।’ उनले शान्ति सुरक्षा र लगानीको वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

डा.महतले एनसेलका टावरमाथि भौतिक आक्रमण भएको भन्दै सुरक्षा व्यवस्था बनाउन आग्रह गरे । ‘एनसेलको टावरमा बम पड्काउने कार्य भएको छ । मान्छे मरेका छन् । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार पनि फिर्ता जाँदै छ । अरुणमा बम विष्फोट भएको छ’, उनले भने, ‘यसरी असुरक्षा हुने हो भने विदेशी लगानी आउँदैन । नेपालमा विदेशी लगानी पनि भित्रदैन । उद्योगधन्दा, कलकारखान भएनन् भने देशमा विकास कसरी हुन्छ ?’

कृषि क्षेत्रमा दिइएको अनुदान पनि कम्युनिस्ट सरकारले लक्षित वर्गलाई नदिएको पूर्वअर्थमन्त्री डा.महतले बताए ।

‘अनुदानका पैसा लिन पनि कमिशन दिनुपर्ने अवस्था छ । कमिशन नदिने हो भने कामै हुँदैन । कृषिको अनुदान मिलोमतामा कागजी रुपमा खर्च बाँडेर लिइएको छ’, उनले भने, ‘कृषिका साथै उद्योग व्यवसाय खोल्नका लागि सरकारी अनुदान दिने भन्ने छ । तर, पैसा नदिए कुनै पनि काम हुँदैन ।’

नेपाली कांग्रेसका नेता डा.महतले गाडीको लाइसेन्स लिन पनि पैसा तिर्नुपर्ने अवस्था रहेको बताए । ‘मालपोतदेखि अधिकांश सरकारी कार्यालयहरूमा भ्रष्टाचार छ । समयमा काम भएको छैन’, उनले भने, ‘सडक, खानेपानी लगायतका विकासका कामहरूमा क्वालिटीको काम हुँदैन । काम हुनुभन्दा अगाडि नै कमिशन लिने छलन छ । हरेक क्षेत्रमा भ्रष्टाचार छ । यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।’

Published : Monday, 2019 March 4, 12:43 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया