अधिकार माग्दा कम्युनिस्ट सरकारद्वारा शिक्षकहरूमाथि दमन

काठमाडौं । अधिकार माग गरेर प्रदर्शनमा उत्रिएका राहत शिक्षकमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा सोमबार प्रदर्शनमा उत्रिएका राहत शिक्षकहरूमाथि प्रहरीले अन्धाधुन्द बल प्रयोग गरेको हो ।

प्रस्तावित संघीय शिक्षा विधेयकमा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गरिनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका राहत शिक्षकले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको थियो ।

माइतीघर मण्डलबाट नारा जुलुस गर्दै नयाँ बानेश्वर चोक जान खोजेका राहत शिक्षकलाई प्रहरीले निषेधित क्षेत्रभन्दै चोकमा जान दिएको थिएन ।

शिक्षकले जबरजस्ती गरेपछि प्रहरीले आश्रुग्याँस तथा पानीका फोहोरा हानेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष खेमराज अधिकारीले प्रहरीले अश्रुग्याँस प्रहार गरेको र केही शिक्षक घाइते भएको जानकारी दिएका छन् ।

केही दिनयता उनीहरूले राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

मुलुकभर ४० हजार राहत शिक्षक छन् । कम्युनिस्ट सरकारको प्रस्तावित विधेयकमा राहत कोटालाई दरबन्दीमा रूपान्तरण गर्ने र आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ ।

शिक्षा मन्त्रालयको प्रस्तावित विधेयक हाल अर्थ मन्त्रालयमा विचाराधीन अवस्थामा छ ।

Published : Monday, 2019 March 4, 7:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया