कम्युनिस्ट सरकारलाई घुँडा टेकाउन आन्दोलन घोषणा, मंगलबार विद्यालय बन्द

काठमाडौं । सामुदायिक विद्यालयमा विगत लामो समयदेखि कार्यरत राहत तथा बालविकास शिक्षकहरूले शान्तिपूर्ण आन्दोलन गरिरहँदा आफूहरूलाई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।

राहत शिक्षक केन्द्रीय समिति र बालविकास शिक्षक केन्द्रीय समितिले संयुक्त रुपमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएका हुन् ।

यसको विरोधमा समितिले कम्युनिस्ट सरकारको विरोधमा मंगलबार फागुन २१ गते देशव्यापी रुपमा सामुदायिक विद्यालय बन्द गर्दै आम शैक्षिक हड्तालमा उत्रिने घोषणा गरेको छ ।

सोमबार साँझ नयाँ बानेश्वरमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले आफूहरूमाथि ज्यादती गरेको र महिला शिक्षकहरुमाथि दुर्व्यवहार गरेको राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘देशव्यापी रुपमा सामुदायिक विद्यालय बन्द गरेर शैक्षिक हड्ताल गर्दापनि हाम्रो माग पूरा भएन भने हामी आउँदै गरेका विद्यालयका वार्षिक परीक्षा र एसईई परीक्षासम्म अवरोध गर्न बाध्य हुन्छौं ।’

उनले भने, ‘हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि प्रहरीले हस्तक्षेप, ज्यादती गर्‍यो । अब हामीलाई काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गर्न दिँदैन भने हामी बाध्य भएर काठमाडौं प्रवेश गर्ने नाकाहरूमा धर्ना बस्छौं ।’

उनका अनुसार प्रहरीले सोमबार साँझ गरेको दुर्व्यवहार तथा धरपकडमा परी दर्जनौं शिक्षकहरू सख्त घाइते भएका छन् । अधिकारीले भने, ‘हिजो र आज गरेर हाम्रा सयौं साथीहरू प्रहरीको ज्यादती र दुर्व्यवहारबाट सख्त घाइते हुनुभएको छ । कतिपयको अस्पतालमा अहिलेपनि उपचार भैरहेको छ । केही साथीहरुलाई अहिले पनि प्रहरी हिरासतमा राखिएको छ ।’

बलजफ्ती गरेर पक्राउ गरिएका आफ्ना सहकर्मी साथीहरूलाई तत्काल रिहाई गर्नसमेत उनले माग गरे । पक्राउ पर्नेहरूमा गोकुल रोकाय, कृष्णराज विष्ट, जनक भण्डारी, दुर्गा शाक्य र गोविन्द ढाँट रहेका छन् । उनीहरूलाई अहिले काठमाडौंको भृकुटीमण्डपस्थित् नेपाल पुलिस क्लबमा राखिएको छ ।

पत्रकार सम्मेलनमा बालविकास शिक्षक केन्द्रीय समितिकी केन्द्रीय अध्यक्ष कृष्णकुमारी थापामगरले आफू स्वयम् समेत घाइते भएको बताइन् । उनले शान्तिपूर्ण आन्दोलन गर्दा पनि आफूहरूमाथि प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश पोखिन् ।

उनले थपिन्, ‘हामी शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिन्छौं । आन्दोलनको लागि अहिलेपनि विभिन्न जिल्लाबाट हजारौंको संख्यामा बालविकास शिक्षकहरू काठमाडौं आउने क्रम जारी छ ।’ थापा प्रहरीले प्रहार गरेको अश्रुग्याँसबाट घाइते भएकी छिन् ।

कार्यक्रममा नेपाल राहत शिक्षक केन्द्रीय समितिका उपाध्यक्ष शारदा तिमिल्सिना र समितिका बरिष्ठ सह–अध्यक्ष वीरेन्द्रकुमार मल्ल, सल्लाहकार संयोजक गणेश ओझाले पनि प्रहरीको ज्यादती र दमनको विरोध गरेका थिए । उनीहरूले आफूहरूको माग पूरा नभएसम्म आन्दोलन जारी रहने उदघोषसमेत गरेका छन् ।

कार्यक्रममा संयुक्त समितिको तर्फबाट प्रेस विज्ञप्ति भने नेपाल राहत शिक्षक केन्द्रीय समितिका महासचिव कर्णबहादुर मगरले वाचन गरेका थिए ।

८० हजार राहत र बालविकास शिक्षकहरू पेशागत गुणस्तर र सुरक्षाको खातिर विगत लामो समयदेखि विभिन्न मागहरू राख्दै संघर्षरत रहेको पनि उनीहरूले जनाएका छन् ।

उनीहरूले जारीगरेको विज्ञप्तिमा भनिएको छ, ‘२०६२/६३ पछाडि देशमा विकास भएको राजनैतिक घट्नाक्रमबाट भएका उपलब्धिलाई संस्थागत गर्नेक्रममा हाल हामी संघीय लोकतान्त्रिक गणतन्त्र राज्य व्यवस्थामा छौं । यसरी मुलुक संघीयतामा प्रवेश गरेसँगै शासकीय स्वरुप पनि परिवर्तन हुने क्रममा नेपालको शिक्षा क्षेत्रमा शिक्षा ऐन २०२८ खारेज भई नयाँ संघीय शिक्षा ऐन २०७५ आउने संघारमा हामी उभिएका छौं ।’

Published : Monday, 2019 March 4, 7:41 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया