शिक्षकहरूलाई दमन नगर्न कांग्रेसको चेतावनी, खाँणले निकाले विज्ञप्ति

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राहत र करारका शिक्षकमाथि भएको प्रहरी दमनविरुद्ध नेपाली कांग्रेसले आफ्नो कडा प्रतिक्रिया दिएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार साँझ विज्ञप्ति जारी गरेर सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरूको शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्द बल प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘विगत लामो समयदेखि सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरूले आज बेलुका नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द बल गरी महिला शिक्षकहरुलाई दुर्व्यहार गरेको र प्रहरीको दमनबाट दर्जनौं घाइते भएकोप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको छ’, खाँणले भनेका छन्, ‘यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ । आजको भएको अमानवीय घटनाप्रति नेपाली कांग्रेस संसदीय दल घोर निन्दा र भत्सर्ना गर्दछ ।’

कांग्रेसका प्रमुख सचेतक खाँणले भनेका छन्, ‘नेपाल सरकारलाई राहत शिक्षकहरूको माग पूरा गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै प्रहरीको धरपकडामा घाइते भई अस्ततालमा उपचार गराई रहनु भएका शिक्षक साथीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’

सोमबार राहत शिक्षकहरूले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्नुका साथै केही शिक्षकहरूलाई पक्राउ गरेको छ ।

Published : Monday, 2019 March 4, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया