कम्युनिस्ट सरकारको अन्यायमा परेका शिक्षकहरुको पक्षमा बोल्यो कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले विगत लामो समयदेखि सामुदायिक विद्यालयमा अध्यापनरत राहत तथा बाल विकास शिक्षकहरुले आफ्ना माग राखी गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेर अमानवीय व्यवहार गरेको भन्दै अपात्ति जनाएको छ ।

कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर फागुन १९ र २० गते काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी शिक्षकहरुप्रति गरेको अमानवीय व्यवहारका कारण दर्जनौँ शिक्षकहरु घाइते भएको घटनाप्रति ध्यान गम्भीर रुपले आकृष्ट भएको जनाएको छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता भई गरेको सम्झौता विपरीत सरकारले निर्णय गरेर गम्भीर त्रुटि गरेको नेपाली कांग्रेसको ठहर छ ।

‘शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ ।’

कांग्रेसले भनेको छ, ‘फागुन १९ र २० गते शिक्षकहरुमाथि भएको अमानवीय घटनाप्रति नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमाथि यस प्रकारको बल प्रयोग नगर्न समेत सरकारलाई सचेत गराउँछ । वार्ता र संवादको माध्यमबाट राहत तथा बाल विकास शिक्षकहरुको जायज माग तत्काल पुरा गर्न, गिरफ्तार सबै शिक्षकहरुलाई अविलम्व रिहा गर्न र घाइते शिक्षकहरुको उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’

यसैबीच, शिक्षकहरुले माग पूरा गराउन दवाव दिन कम्युनिस्ट सरकारविरुद्ध मंगलबार पनि प्रदर्शन गरेका छन् ।

शिक्षकहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले आफूहरुका माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।

Published : Tuesday, 2019 March 5, 3:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया