हजारौँ अस्थायी शिक्षकहरूविरुद्ध उत्रिए नवीना र रञ्जीत, शिक्षकहरूको दुखाए मन

काठमाडौं । राहत र बालविकास शिक्षकहरूको आन्दोलनप्रति सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विमती प्रकट गरेको छ ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर राहत शिक्षकहरूलाई स्वतः स्थायी गर्न नहुने जनाएका हुन् ।

उनीहरूले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटक–पटक स्वतः स्थायीको माग राखेर आन्दोलन गरिनु दुःखद् भएको बताएका छन् ।

शैक्षिक सत्रको उत्तरार्धमा शिक्षकहरूले कक्षाकोठा छोडेर शुरु गरेका आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको लामा र तामाङले जनाएका छन् ।

अध्यक्षद्वय लामा र तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राहत शिक्षकहरूको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको हाम्रो निश्कर्ष छ ।’

‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटक–पटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुखद् अरु हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘आज सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकहरूले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?’

अस्थायी शिक्षकहरूको सन्दर्भमा शिक्षा ऐनको नवौं संशोधनमा गलत प्रावधान राखिएको र आआफूहरू शुरुदेखि नै यसको विरोध रहेको उनीहरूले बताएका छन् ।

अध्यक्षद्वय लामा र तामाङले आन्तरिक दरबन्दीमा माग भएको कोटा बमोजिमका शिक्षक समेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौं संशोधनको प्रावधान गलत रहेको सिद्ध गरिसकेको बताएका छन् ।

‘गलत निर्णयलाई नजिरको रुपमा स्थापित गर्ने अर्को गल्ती नगर्न नेपाल सरकार, शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकले शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर अगाडि बढ्न अनुरोध छ ।’

‘आफ्नो व्यक्तिगत स्वार्थपूर्तिको लागि लाखौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेगरी विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न अनुरोध समेत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

राहत र बालविकास शिक्षकहरू विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूको आन्दोलनमा प्रहरीले सोमबार दमन गरेको थियो ।

Published : Tuesday, 2019 March 5, 5:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया