योगेश भट्टराईको जिल्लामा उनकै पार्टीका जनप्रतिनिधिहरूले गरे ‘काण्ड’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरूले अवैधानिक रुपमा राज्यको सम्पत्तिमा ब्रम्हलुट मच्चाएका समाचारहरू धमाधम आउन थालेका छन् ।

नेपाली कांग्रेसका भन्दा पनि नेकपाका जनप्रतिनिधिहरू सरकारी पैसा मनपरी व्यक्तिगत खर्च गर्ने विषयमा अगाडि देखिएका छन् । सरकारी सम्पत्ति र पैसा दुरुपयोग गर्नेमा पूर्वएमाले र पूर्वमाओवादीहरू अगाडि छन् ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराईले आफ्नै पत्नीलाई भान्सेमा नियुक्त गरेर अबैध रुपमा नगरपालिकाको पैसा बुझ्दै आएको खुलासा भएको छ ।

पत्नीको नाममा अबैध रुपमा बुझ्दै आएको तलवका बारेमा समाचार बाहिर आएपछि उपमेयर भट्टराईले रकम फिर्ता गरेका छन् ।

उपमेयर भट्टराईले साउन १ गतेदेखि श्रीमती बालकुमारी कार्की भट्टराईलाई भान्से नियुक्त गरेर लिएको मासिक १५ हजार ५ सय ९० रुपियाँका दरले ९६ हजार रुपियाँ फिर्ता गरेका छन् ।

उपमेयर भट्टराईले मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी आफूबाट गल्ती भएको स्वीकारे । उनले श्रीमतीले बुझेको ९६ हजार नगरपालिकाको सञ्चित कोष खातामा जम्मा गरेको बताएका छन् ।

एमाले पृष्ठभूमि भएका मेयर छत्रपति प्याकुरेल पनि नगरपालिकको सरकारी पैसा दुरुपयोग गर्नेमा अग्रपंक्तिमा देखिएका छन् ।

मेयर प्याकुरेलले स्थानीय कुमार मादेनलाई नियमविपरीत सल्लाहकार नियुक्त गरेका छन् । मादेनलाई गत आर्थिक वर्षमा मात्रै तीन लाख भुक्तानी दिएका छन् ।

त्यति मात्रै कहाँ हो र ? मेयर प्याकुरेलले आफ्नो निजी घर मर्मतमा सरकारी कोषको ९ लाख खर्च गरेका खुलासा भएको छ ।

प्याकुरेलले साली मथुरा श्रेष्ठलाई कार्यालय सहयोगीका रूपमा नियुक्त गरेर घरमा भान्से बनाएका छन् । मेयर प्याकुरेलले सालीको छोरोलाई सहयोगीको रुपमा नियुक्ति दिलाएका छन् । उनी इटहरीमा बस्छन् ।

आफ्नै पार्टी निकटको अनेरास्ववियुले मेयर प्याकुरेललाई ज्ञापनपत्र बुझाएर अनियमितताबारे यथार्थ सार्वजनिक गर्न २४ घन्टे अल्टिमेटम दिएको छ ।

फुङलिङका पदाधिकारी तथा कर्मचारीले प्रदेश कानूनले तोकेभन्दा धेरै रकम लिने गरेको खुलासा पनि भएको छ ।

उनीहरूले बैठक, यातायात र भ्रमण खर्चका नाममा १५ लाख बढी रकम सिध्याएका छन् । फर्जी अनुगमनका नाममा बल भरपाई बनाएर रकम लिइएको छ ।

उपभोक्ता समितिमार्फत १५ लाखको ह्युमपाइप खरिद गरेको बिल पेस गरिएको छ । प्राविधिकले पनि ह्युमपाइप किनेर बिच्छ्याएको कार्यसम्पन्न प्रतिवेदन दिएको छ । त्यो पाइप कुन स्थानमा, कसले प्रयोग गरेको भनी खोज्दा भेटिएको छैन ।

ताप्लेजुङ जिल्ला नेकपाका सांसद एवम् नेता योगेश भट्टराईको जिल्ला पर्छ । भट्टराई ताप्लेजुङबाट प्रतिनिधि सभामा विजयी भएका थिए ।

नेकपाका सांसद एवम् नेता भट्टराईको जिल्लामा यति ठूलो काण्ड आफ्नै पार्टीका मेयर र उपमेयरबाट भएपछि अब के गर्छन् भनेर प्रश्न उठेको छ । सुशासनका नारा लगाउने भट्टराईले मेयर प्याकुरेल र उपमेयर भट्टराईलाई कस्तो कारबाही गर्ने वा गराउने हुन् ताप्लेजुङका जनताले हेरेका छन् ।

Published : Wednesday, 2019 March 6, 11:17 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया