कांग्रेसका सांसदको घरमा मध्यराति प्रहरीको छापा, आक्रोशित बन्यो कांग्रेस

नेपालगञ्ज । प्रहरीले नेपाली कांग्रेसका प्रदेश सांसद भुवनेश्वर थारुको घरमा खानतलासी गरेको छ ।

प्रदेश ५ का सांसद थारुको घरमा प्रहरीले मंगलबार राति खानतलासी गरेको हो ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखर गाउँमा रहेको प्रदेश सांसद थारुको घरमा फागुन २१ गते राति १० बजे प्रहरीले खानतलासी गरेको थियो ।

प्रदेश सांसदको घरमा प्रहरी जबरजस्ती भित्र प्रवेश गरेको थियो । छापामार शैलीमा प्रहरी हामी सिआइडी होभन्दै खानतलासी गरेको सांसद थारुकी श्रीमती सरिता थारुले बताएकी छिन् ।

मंगलबार राति एक्कासि प्रहरीले ढोका खोल्न लगाएका थिए । त्यसपछि उनीहरूले घरमा खानतलासी गरेको सरिता थारुले उल्लेख गरिन् । प्रदेश सांसद थारुको घरमा ५–६ जना सादा पोशाकका व्यक्तिहरू प्रवेश गरेका थिए ।

सादा पोशाकमा घर खानतलासी गर्ने व्यक्तिहरूका बारेमा बुझ्दा अरु कोही नभएर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले पठाएका प्रहरी भएको सरिता थारुले बताइन् ।

प्रहरीले प्रदेश सांसद थारुको घरमा सादापोशाकमा पुगेर खानतलासी गरेको विषयमा केही भनिएको छैन ।

ट्रयाकटरले महिलालाई ठक्कर दिएर ड्राइभर भागेर प्रदेश सांसदको घरमा लुकेको अपुस्ट जानकारी प्राप्त भएकाले मंगलबार राति प्रदेश सांसद थारुको घरमा छापामारिएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख लक्ष्मण ओलीले बताएका छन् ।

कुनै पनि सांसदको घरमा खान तलासी गर्दा प्रदेशका सभामुखको अनुमति लिनुपर्छ । तर, नेपाली कांग्रेसका प्रदेश सांसद थारुको घरमा सुनियोजित तरिकाले प्रहरीले छापामारेको भन्दै विरोध भएको छ ।

नेपाली कांग्रेसका प्रदेश सांसद थारुले घरभित्र जबरजस्ती प्रवेश गरेर खानतलासी गर्न आदेश दिने बर्दियाका प्रहरी प्रमुख र प्रहरीलाई कानूनअनुसार तुरुन्त कारबाहीको माग गरेका छन् ।

प्रहरीबाट भएको उक्त कार्यको नेपाली कांग्रेस बर्दियाले घोर भर्त्सना तथा निन्दा गरेको छ । बर्दिया कांग्रेसले विज्ञप्ति जारी गरेर प्रहरीको कार्यशैलीको विरोध गर्दै आपत्ति जनाएको छ ।

देशमा शान्ति सुरक्षा, अमन चयन कायम गर्ने प्रहरीले नै छापामार शैलीमा गैर कानूनी रुपमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई तर्साउने, उनीहरूको मनोबल घटाउने, अपमानित गर्ने जस्ता अमानवीय, अलोकतान्त्रिक कार्यले दुई तिहाईको वर्तमान कम्युनिस्ट सरकारको कुत्सित नियत उदाङ्गिएको बर्दिया कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Wednesday, 2019 March 6, 6:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया