चिनियाँ गुप्तचरहरू ठमेलदेखि तराईसम्म छरिए

काठमाडौं । पछिल्लो समय चीनले नेपालमा आफ्नो उपस्थिति बाक्लो बनाउँदै लगेको छ । तराईका अधिकांश जिल्लाहरूमा चीनले विभिन्न बहानामा आफ्नो उपस्थिति जनाइरहेको छ ।

भारत र पाकिस्तानबीच द्वन्द्व बढिरहेका बेला चिनियाँ दूताबासले प्रदेश २ को राजधानी जनकपुरमा आफ्ना गुप्तचरहरू परिचालन गरेको स्रोतले जनाएको छ । जनकपुरधामका एकजना सत्तारुढ नेकपाका नेताले चीनका लागि सूचना संकलन हुन थालेको संकेत आफूले पाएको बताए ।

‘चिनियाँ नागरिकहरू जनकपुरधाममा देखिन थालेका छन् । उनीहरू जनकपुर आउनुको कुनै कारण छैन’, ती नेताले भने,‘चीनले प्रदेश २ मा हुने गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।’

त्यति मात्रै होइन चीनले विराटनगर, झापा, नेपालगञ्ज, कैलाली, कञ्चनपुर, बैतडी, डोटीसहितका जिल्लाहरूमा समेत आफ्ना मान्छेहरू खटाएको स्रोतले जनाएको छ । चीनविरुद्ध हुने कुनै पनि स–साना गतिविधिहरू संकलन गर्ने गरेका छन् । चीनले प्रदेश ५ मा पनि आफूलाई दह्रो रुपमा उपस्थिति जनाउन थालेको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेट गर्ने गरेकी छिन् । मुख्यमन्त्री पोखरेलकी जेठी छोरी चीनमा अध्ययनरत छिन् । चीनले नै छात्रवृत्ति दिएर मुख्यमन्त्री पोखरेलकी छोरीलाई पठाइदिएको हो ।

स्रोतका अनुसार चीनबाट आउने नेता र उच्च कर्मचारीहरू पनि मुख्यमन्त्री पोखरेललाई भेट्न बुटवलसम्म पुग्ने गरेका छन् । मुख्यमन्त्री पोखरेल पछिल्लो समय चीनसँग निकट देखिएका छन् ।

चीनले विशेष गरेर प्रदेश २ र प्रदेश ५ मा आफूलाई केन्द्रित गरेको छ । यी दुई प्रदेशमा भारतको दब्दवा भएपछि चीनले पनि आफूलाई सक्रिय बनाएको स्रोतले जनाएको छ । चीनले व्यापारी, समाजसेवी, एनजिओ आदिका नाममा आफ्ना मान्छेहरू परिचालन गरेर सूचना संकलन गर्ने गरेको छ ।

यो कुरा गृहमन्त्रालयसम्म सबैलाई थाहा छ । गुप्तचर विभागले पनि चीनको चलखेल नेपालमा बढ्दै गएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको स्रोतले जनाएको छ ।

चिनियाँ नागरिकहरूले ठमेलमा कब्जा जमाएर बसेका छन् । ठमेलका अधिकांश होटेलहरू चिनियाँ नागरिकले चलाएका छन् । यतिसम्मकी दुई वर्ष अगाडि क्षेत्रपाटीबाट बरामद् भएको ८८ केजी सुनका मालिक चिनियाँ नागरिकलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

चिनियाँ नागरिकहरू ठमेलका होटेलहरूमा देखिन थालेपछि अमेरिका, युरोपबाट आएका पर्यटकहरू ठमेलमा बस्दैनन् । उनीहरू ठमेलभन्दा बाहिरका होटेल र रेष्टुरेन्टमा जान थालेको एकजना पर्यटन व्यवसायीले जानकारी दिए ।

‘ठमेलमा चिनियाँ नागरिकहरूको दबदबा बढेको छ’, उनले भने,‘अमेरिका, युरोपबाट आएका पर्यटकहरू ठमेलमा धेरै कम देख्न पाइन्छ । उनीहरू ठमलेभन्दा बाहिरका होटेल र रेष्टुरेन्टमा जान रुचाउँछन् ।’

यसैबीच, चीनका सार्वजनिक सुरक्षामन्त्रीले गृहमन्त्री रामबहादुर थापालाईचीनको औपचारिक भ्रमण निम्तो पठाएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गत मंगलबार गृहमन्त्री थापालाई भेटेर निमन्त्रणा बुझाएकी छिन् । भेटमा दुई देशबीचको आन्तरिक सुरक्षाका विषयमा समेत छलफल भएको थियो ।

नेपालमा चीन विरोधी गतिविधि नहोस् भन्ने चाहना चीनको छ । चीनको चाहना अनुसार गृहमन्त्री थापाले पनि काम गर्दै आएका कारण भ्रमणको निम्तो आएको हुन सक्ने जानकारहरूले बताएका छन् ।

गृहमन्त्री थापाले चीन विरोधी कुनै पनि गतिविधि हुन नदिने बताउँदै आएका छन् । चीनले भने पनि नभने पनि नेपालले आफ्ना छिमेकी मुलुकहरूविरुद्ध कुनै पनि गतिविधि गर्न नदिने बताउँदै आएको छ ।

तर, चीनले नेपालको भनाइलाई विश्वास गर्न चाहेको छैन । बेलाबेला चिनियाँ राजदूतावासका कर्मचारीहरूले नेपालका बुद्धिजीवी, कर्मचारी, राजनीतिक दलका नेता, पत्रकार, उद्योगी, व्यापारी आदिसँग पाँच तारे होटेलहरूमा गोप्य बैठकहरू गर्ने गरेका छन् ।

ती बैठकहरू चिनियाँ कर्मचारीहरूले नेपालको आन्तरिक राजनीति र भारतसँगको सम्बन्ध एवम् चीनसँग कसरी नेपालले डिल गर्छ भन्नेबारेमा प्रश्नहरू सोध्ने गर्छन् । (यूनाइटेड पोष्ट साप्ताहिकबाट साभार)

Published : Thursday, 2019 March 7, 7:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया