वीपी उद्यान कब्जा भएपछि कांग्रेसद्वारा विरोध, लालबाबुका शुरु भए खराब दिन

काठमाडौं । नेपाली कांग्रेसले वीरगञ्जमा निर्माणाधीन वीपी कोइराला उद्यानको जग्गा प्रदेश २ को सरकारका मुख्यमन्त्री लालबाबु राउतले कब्जा गरेको भन्दै विरोध जनाएको छ ।

संसदको बिहीबारको बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसकी मुख्य सचेतक पुष्पा भुसालले वीपी कोइरालाले मुलुकमा गरेको योदान र इतिहाँसलाई मेट्ने प्रयास गरिएको बताइन् ।

मुख्यमन्त्री लालबाबु राउत र भौतिक योजनामन्त्री जितेन्द्र सोनलले वीपी उद्यानमा रहेको दश बिघा जग्गा कब्जा गरेर अर्कै प्रयोजनामा प्रयोग गर्न खोजेको भन्दै भुसालले आपत्ति जनाइन् ।

वीपी उद्यान बनाउन ०५१ सालमा यातायात संस्थानसँग वीरगञ्ज नगरपालिकाले दश बिघा जग्गा दश करोडमा किनेको थियो । त्यो उद्यानलाई मासेर प्रदेश २ का मुख्यमन्त्री राउतले मधेसका शहीद पार्क बनाउन खोजेपछि कांग्रेसले विरोध गर्दै आएको छ ।

०६० सालको सरकारले वीपी उद्यानको नाममा दश बिघा जग्गा नाम सारी गरिदिएको थियो । त्यो जग्गा अन्य कुनै पनि उदेश्य वा प्रयोजनमा प्रयोग गर्न नपाइने व्यवस्था छ ।

नेपाल र नेपालीहरूको स्वाधीनताका लागि संघर्ष गरेको वीपी कोइरालाको इतिहाँस मेट्ने गरेर प्रदेश २ को सरकारले वीपी कोइरालाको पहिचान मेटाउन खोजेको कांग्रेसकी सचेतक भुसालले आरोप लगाएकी छिन् ।

माघ १६ गते मुख्यमन्त्री लालबाबु राउत र प्रदेशका भौतिक योजना मन्त्री जितेन्द्र सोनलले दलवलसहित ‘त्यो वीपी कोइला को हो ? हामी चिन्दैनौँ’ भन्दै भाषण गरेर कब्जासहित शिलान्यास गरेका थिए । उनीहरूले मधेसका शहीद पार्कका लागि ७५ लाख निकासा गरेको भन्दै वीपी उद्यानलाई कब्जा गरेर शिलान्यास गरेपछि नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।

प्रदेश २ का अहिलेका मुख्यमन्त्री राउत ०६१ सालमा वीरगञ्ज नगरपालिकामा अधिकृत थिए । राउतलाई सबै कुराको जानकारी हुँदाहुँदै तराई मधेसबाट नेपाली कांग्रेसलाई समाप्त पार्ने गरेर वीपी र कांग्रेसविरुद्ध षड्यन्त्र गरेको भुसालको आरोप छ ।

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यस विषयमा सानेपास्थित पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाइसकेका छन् ।

कांग्रेस सचेतक भुसालले प्रदेश २ को सरकारले गरेको निकृष्ट कार्यलाई तत्काल सच्चाउन माग गरेकी छिन् । अन्यथा नेपाली कांग्रेसले मुख्यमन्त्री राउतका विरुद्ध आन्दोलन गर्ने चेतावनी पनि दिएकी छिन् ।

Published : Thursday, 2019 March 7, 2:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया