धुन्दुकारी विप्लवका नेता अत्याधुनिक हतियारसहित पक्राउ

चन्द्रौटा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताको घरमा छापामारेर प्रहरीले हतियार बरामद गरेको छ ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका – ९ तुरुन्तापुरस्थित दुर्गाबहादुर रोक्काको घरमा बिहीबार छापामारेर प्रहरीले दुईथान एसएमजी र एकथान चाइनिज पेस्तोल बरामद गरेको हो । यो गाउँमा विप्लवको घर पर्छ ।

हतियारमा लाग्ने ४ थान म्याग्जिन, ३ थान गोली, एम १६ मा लाग्ने १ सय २९ थान गोली, ४० मिटर वायरिङ तार र एउटा रिमोर्ट पनि प्रहरीले बरामद गरेको छ ।

नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान उनको घरमा सर्च गरेका थिए ।

हतियार बरामद भएपछि रोक्का भाग्न खोजेका थिए । रोक्कालाई पक्राउन गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । रोक्काको खुट्टामा गोली हानेर पक्राउ गरिएको थियो ।

रोक्का पक्राउ परेपछि उनलाई छुटाउन विप्लवको पार्टीका कार्यकर्ताले नेपाल राष्ट्रिय निमाविका विद्यार्थीलाई प्रयोग गरेका थिए । विद्यार्थीले पक्राउ परेका व्यक्ति छाड्न दबाब दिन नाराबाजी गरेका थिए ।

विद्यार्थी सडकमा उत्रिएपछि प्रहरीपछि हटेको थियो । प्रहरी र विद्यार्थीबीच केही बेर तनाब भएको थियो । प्रहरीले अन्य केही घरहरूमा पनि छापा मारेको छ ।

Published : Thursday, 2019 March 7, 3:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया