कांग्रेस मिल्यौँ भने कम्युनिस्टहरूको पत्तासाफ हुन्छः योगेन्द्र चौधरी (अन्तर्वार्ता)
योगेन्द्र चौधरी, युवा नेता एवम् पूर्वसांसद, नेपाली कांग्रेस
पार्टी समायोजनको कुरा कहाँ पुग्यो ?
पार्टी एकीकरणसँग समायोजनमा जे अपेक्षा गरेका थियौँ त्यो भएको छैन । तल्लो तहदेखि माथिल्लो तहसम्म सबै प्रक्रिया पूरा गरेर नेता कार्यकर्ताहरूको व्यवस्थापन हुनेछ भन्ने अपेक्षा गरेका थियौँ त्यसो हुन सकेन । यसले गर्दा हामी जुन उत्साह र अपेक्षाले कांग्रेसभित्र आएका थियौँ त्यसले हामीलाई भन्दा पनि पार्टीलाई क्षति पुगिरहेको हामीले अनुभूति गरिरहेका छौं ।
धेरै लामो समयपछि आएर विजय गच्छदारलाई पार्टीको उपसभापति बनाएर एउटा समायोजन प्रक्रियाको पहिलो खुड्किलो चाहिँ पार भयो ।
त्यो सँगसँगै हामीले अपेक्षा गरेका थियौँ कि अब बाँकी कामहरू पनि यसै गरी तीब्रता पाउनेछ भन्ने कुरामा । तर, अहिलेसम्म हामी अन्यौलताको बीचमा गुज्रीरहेका छौँ । यसबाट हामीलाई चिन्ता लागेको छ । हामीसँगै राजनीतिक भविष्य जोडिएका साथीहरू हुनुहुन्छ । यो अफ्ठ्यारो परिस्थितिमा कांग्रेस थप बलियो हुनुपर्छ ।
कांग्रेससँगै पार्टी समायोजन गर्नुको कारणको आधार भन्न सक्नु हुन्छ ?
कांग्रेसको राजनीति भनेको मुलुकको लोकतन्त्रसँग गाँसिएको राजनीति हो । कांग्रेस बलियो हुँदा लोकतन्त्र बलियो हुन्छ । हामीले ल्याएको संविधानको सहि मानेमा कार्यान्वयन हुनेछ भन्ने जुन हामीले ठानेका थियौँ । त्यसले पनि कांग्रेसलाई बलियो बनाउनुपर्छ । लोकतन्त्रलाई बलियो बनाउनु पनि हाम्रो उदेश्य हो ।
कांग्रेसभित्रको गुटले तपाईहरूलाई समायोजन गर्न ढिलाइ भएको त होइन ?
गुट उपगुटको राजनीतिक चपेटामा परेको कांग्रेसभित्र चाहिँ ती प्रक्रियाहरू पूरा हुन सकिरहेको स्थिति छैन । मलाई लाग्छ त्यसको कारण पनि त्यही गुट उपगुटको राजनीतिका एउटा परिणाम पनि हो ।
तत्कालीन फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समायोजन गर्न बनेको कार्यदलको बैठक बस्नै सकेको छैन । कसरी समायोजनको कुरा अगाडि बढ्छ ?
कार्यदलको बैठक नियमित रुपमा बस्न सकिरहेको छैन । कार्यदलले के–के प्रक्रियाहरू पूरा गर्नुपर्ने हो ? के–के कामहरू गर्नुपर्ने हो भन्ने कुराहरू मलाई लाग्छ अझै आकार लिन सकेको छैन । आफ्नो कार्यविधिहरू पनि ठोस रुपमा तय गर्न सकेको छैन । फोरम लोकतान्त्रिकका तत्कालीन सदस्यहरूलाई कांग्रेसको सक्रिय सदस्यहरूको रुपमा रुपान्तरण गर्ने कुराहरूको अहिलेसम्म टुंगो लागिसकेको छैन । हामीसँग रहेका साथीहरू अब के गर्ने हो भनेर त्यो अन्यौलताको बीचबाट गुज्रिरहेको स्थिति छ ।
कांग्रेसले सदस्यता नवीकरणको कुरा अगाडि बढाएको छ । तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरूको भविष्य अब के हुन्छ ?
हो नेपाली कांग्रेसले पुराना साथीहरूको सदस्यतालाई नवीकरण गर्ने कुराहरू उठाइरहेको छ । त्यो प्रक्रिया अगाडि बढिसकेको छ । नवीकरणका लागि फागुन २५ गतेसम्म सबै फारमहरू बुझाइ सक्ने भन्ने कुरा पनि सुनेको छु । तर, हाम्रा साथीहरू के गर्ने भनेर प्रश्न गरिरहेका छन् । हाम्रो सक्रिय सदस्यता के हुन्छ भनेर प्रश्न उठाइरहेको स्थितिमा हामीले सहि जवाफ दिने स्थिति छैन ।
यही हो भन्ने कुरा हामीलाई पनि अहिले अन्यौल भैरहेको बेला हामीले के जवाफ दिने हो भन्ने अन्यौलताबाट हामी गुज्रीरहेका छौँ । तत्कालीन फोरम लोकतान्त्रिकमा हामी नेताको हैसियतमा थियौँ । म आफै पनि महामन्त्री थिएँ । हाम्रो स्थिति यो बनेको छ । त्यसैले हामीलाई निरास चाहिँ बनाएको छ । जुन उर्जा थियो त्यो उर्जा चाहिँ छैन ।
कार्यदलका संयोजक र अन्य शीर्ष नेताहरूसँग तपाईको कुरा भएको छैन ?
व्यक्तिगत रुपमा कार्यदलको संयोजक विमलेन्द्र निधि दाईसँग कुरा भएको छ । कार्यदलका सदस्य दीपक गिरी दाईसँग पनि कुरा भएको छ । उहाँहरूले बैठक बस्ने कुरामा कुनै अन्यौलता छैन भन्नुभएको छ । तर, बैठकबाट हामी निर्णय गर्छौं पनि भन्नु हुन्छ । तर, बैठक कहिलेसम्म बस्ने हो ? बैठकले के–के निर्णय गर्ने हो ? कसरी निर्णय गर्ने हो ? भन्ने कुराको टुंगो उहाँहरूले पनि लगाइसक्नु भएको छैन ।
कांग्रेसभित्र विजय गच्छदार बलियो हुन्छ भन्ने मनोविज्ञान त हावी भएको छैन ?
कांग्रेसभित्रको गुट र उपगुटको राजनीतिक चपेटामा हामी परेका छौँ । त्यसमा फस्यौँ कि जस्तो लागिरहेको छ । पार्टी समायोजनमा समस्या परेको छ । ढिलाइ भएको छ । एउटा मनोविज्ञानले के काम गरिरहेको छ भने विजय गच्छदारबाट आएका सबै साथीहरू विजय गच्छदारकै हुन् त्यसैले उनीहरूलाई समायोजन गर्दा र पोर्टफोलियोमा ल्याउँदा विजय गच्छदार बलियो हुने हो कि भन्ने एउटा मनोविज्ञानले काम गरेको जस्तो लागेको छ ।
यो सोँचलाई विजय गच्छदारका साथीहरू सबै जोडिदा खेरी उनीहरूको उर्जा नेपाली कांग्रेसको निम्ती प्रयोग हुनेछ र नेपाली कांग्रेस बलियो हुन्छ भन्ने सकारात्मक सोँच भैदिएको भए समायोजनको कुराले तिब्रता पाउने थियो । यहाँ त व्यक्ति बलियो हुने हो कि भन्ने चिन्ताबाट ग्रसित भएको हामी पाइरहेका छौँ ।
हामी कुनै व्यक्तिलाई बलियो बनाउनेभन्दा पनि मुलुकको लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउनका लागि निम्ती एउटा दह्रो लोकतान्त्रिक पार्टी चाहिन्छ । त्यसको निम्ती नेपाली कांग्रेस बाहेक अर्को पार्टीको विकल्प छैन ।
यो विषम परिस्थितिमा जहाँ कम्युनिस्टहरू एक भएको स्थितिमा हामी लोकतन्त्रवादीहरू एक भएर थप लोकतान्त्रिक शक्तिलाई बलियो बनाउनु पर्छ र लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्दै लैजानुपर्छ भन्ने मान्यता हामी राखेर कांग्रेसभित्र आएका छौँ । हाम्रो व्यवहार पनि त्यही मुताविक हुनेछ । कुनै व्यक्तिलाई भन्दा पनि संस्था कसरी बलियो बनाउने ? र त्यो संस्थाले मुलुकको नेतृत्व गर्नमा कसरी सक्षम हुन्छ ? भन्ने चिन्ताबाट हामी बढ्ता चिन्तित छौँ ।
कांग्रेसमै किन समायोजन हुनु भयो तपाईहरू ?
कांग्रेस बन्नुपर्छ । बनाउनु पर्छ । पार्टी एकीकरण गर्ने बेला देखिनै मैले मुलुकको राजनीति ध्रुबीकरण भयो अब चाहिँ हामी लोकतान्त्रिक पार्टी हुनुको नाताले लोकतान्त्रिक पार्टी खोज्दै जाँदा नेपाली कांग्रेससँग समायोजन हुनु बाहेक हामीसँग बिकल्प छैन । त्यसैले यो लाइनमा कुरा गर्ने मध्येको म पनि एउटा हो ।
तपाई दाङको नेता कांग्रेसलाई बलियो बनाउने कसरी हो ? खुमबहादुर खड्काको जिल्लामा तपाईलाई चुनौती छैन ?
कांग्रेस पार्टीलाई बलियो बनाउने कुरामा म सधैँ सहमति भएरै कांग्रेसमा आएको हुनाले आफ्नो ठाउँमा रहेको दाङ जिल्लाको कांग्रेसलाई कसरी बलियो बनाउने भने भन्ने कुरामा म निश्चित रुपमा सम्वेदनशील छु । यस विषयमा खुमबहादुर खड्का दाई हुँदा कांग्रेसको एउटा पोजिशन थियो दाङ जिल्लामा । उहाँको दुखद् निधन पश्चात सम्पूर्ण दाङबासीले एउटा असहज परिस्थितिको सामना गर्नुपरेको छ । सबै जना नेतृत्व बिहीन भएको एउटा दुखद् क्षण छ हाम्रो निम्ती यसलाई शक्तिमा परिवर्तन गर्नाका निम्ती बदलिनाका निम्ती हामी दाङका कांग्रेसहरू एक हुन जरुरी छ । यसको बिकल्प छैन ।
दाङमा कम्युनिस्टहरू हावी भएका छन् । कांग्रेस कमजोर भएको छ होइन र ?
कांग्रेस दाङमा कमजोर होइन र छैन । हामी एक हुँदा खेरी दाङ जिल्लामा म दावाका साथ भन्छु तीन वटै सिट जित्छौँ । कांग्रेसलाई अगाडि ल्याउन सक्छौँ । स्थापित गर्न सक्छौँ भन्नेमा म विश्वस्त छु । यसका निम्ती हामी मिल्नुको बिकल्प छैन ।
दाङमा पनि कांग्रेसका थुप्रै गुटहरू छन् होइन र ?
गुट उपगुटको कुरा दाङको मात्रै कुरा भएन । कांग्रेसभित्रको कुरा भैसक्यो । दाङमा गुटको प्रभाव परेकै छैन भन्ने कुरा त हुन सक्दैन । दाङमा पनि गुटका प्रभावहरू परेकै छन् । हामीले परिस्थितिको सामना गर्नुछ । हामीले कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गर्दै छौँ उ शक्तिशाी बनेर आएको छ । कम्युनिस्टहरूलाई परास्त गर्न हामी गुट उपगुट र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नै पर्छ ।
कम्युनिस्टहरूलाई कसरी परास्त गर्नु हुन्छ ?
त्यो शक्ति (कम्युनिस्टहरू)लाई हामीले परास्त गर्नका निम्ती तिनले गरेका गलत काम, निर्वाचनका बेला जुन नारा दिएर सरकारमा आए या बलियो भए, सरकार बनाएपछि तिनका हर्कतहरू, तिनका गतिविधि र क्रियाकलापहरू जनविरोधी छन् भन्ने कुराहरू पनि एउटा महत्वपूर्ण कुरा लाग्छ । यसलाई जनता समक्ष कांग्रेसले जानकारी गराउनु पर्छ ।
कम्युनिस्टहरूको भण्डाफोर गर्नुपर्छ । गाउँका जनतालाई यसको जानकारी दिनुपर्छ । यसका निम्ती पनि कांग्रेस एक भयो भने, एक आवाज लिएर गयो भने यिनले गरेका जनविरोधी कामका बारेमा जनतालाई बुझाउने कुरा, जनतासँग साक्षत्कार गर्ने कुराहरूमा पनि त पहिला हामी एक ठाउँमा उभिनु पर्छ नि । होइन र ?
हामी आफूभित्र रहेका गुट उपगुट र व्यक्तिगत स्वार्थ भुलेर एकजुट हुने हो वा मिल्ने हो भने कम्युनिस्टहरूको पत्तासाफ गर्न सक्छौँ । कांग्रेसलाई अहिले पनि जनताको अपार साथ छ ।
तपाईहरूसँग कम्युनिस्टविरुद्ध भिड्ने एजेण्डा नै छैन ?
हामीसँग धेरै एजेण्डाहरू छन् कम्युनिस्टहरूका विरुद्धमा । अहिले समृद्ध नेपाल, खुसी नेपाली नारा दिएका छन् । कम्युनिस्टहरूले सिन्को पनि भाँचेका छैनन् । अहिले कोही पनि नेपाली नागरिकहरू खुसी भएको महशुस गरिरहेको छैनन् । समृद्ध हुने बाटो तर्फ गएको हामी महशुस गर्न सकिरहेका छैनौँ । कुनै यथेष्ट आधारहरू छैनन् । आर्थिक स्थिति र वृद्धि गर्ने कुरामा अहिलेको प्रक्षेपणमा आर्थिक वृद्धि दर साढे दश प्रतिशत बनाउने नेपाल सरकारले लिएको थियो । तर, साढे छ प्रतिशतमै आर्थिक वृद्धिदर सीमित भएको छ । यसले पनि के संकेत गर्छ भने आर्थिक रुपले मुलुकलाई समृद्ध बनाउने भन्दा पनि आर्थिक रुपले कमजोर बनेको संकेतहरू तथ्याङ्कले देखाइ रहेको छ ।
दाङमा कम्युनिस्टहरू बलियो भएको त मान्नु हुन्छ नि ?
मान्दैन । अंकगणित मात्रै सबै कुरा होइन । जनताको साथ कसलाई छ भन्ने कुरा पनि हो । दाङका जनताको साथ नेपाली कांग्रेसलाई छ । कम्युनिस्टहरूलाई छैन । यो मेरो दाबी हो । दाङमा कम्युनिस्टहरू हाबी भएको भन्ने कुरा मलाई हाउगुजी हो जस्तो लागछ । जनता सरकारबाट तर्सित छन् । सरकारले कुनै पनि जनमुखी कामहरू गर्न सकेको छैन । कांग्रेसको पालामा आएका बाहेकका कुनै पनि राष्ट्रिय योजनाहरू अहिलेको कम्युनिस्ट सरकारले दाङ जिल्लालाई दिन सकेको छैन ।
दाङलाई राजधानी बनाउने कुरा कता पुग्यो ?
प्रदेश ५ को राजधानीको विषय महत्वपूर्ण कुरा बनेको छ । राजधानी दाङमा बन्ने कुरा सबै साझा एजेण्डा बनेको कुरालाई जबरजस्त रुपमा बुटवलमा लग्ने दुस्प्रयास गरियो । प्रतिनिधि सभाको सभामुख कृष्णबहादुर महराजी पनि दाङ जिल्लाकै हुनुहुन्छ । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेलजी पनि दाङकै हुनुहुन्छ । यति ठूलो शक्ति र कुर्सीमा बसेको बेला पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङ जिल्लाको अपेक्षा पूरा गर्न सक्नुभएको छैन ।
उहाँहरूले निरिहता देखाइ रहनु भएको छ । दाङ जिल्लाबासीले यसको मूल्यांकन गरेका छन् । उहाँहरूले दाङलाई प्रदेश ५ को राजधानी बनाउने भनेर निर्वाचनका बेला मतदाता समक्ष भन्नुभएको थियो । अहिले आएर महराजी र पोखरेलजीले मतदाता समक्ष गरेको प्रतिवद्धता भुल्नु भएको छ । हामी त दाङलाई राजधानी बनाउनुपर्छ भन्ने अभियानमै छौँ । आफ्नो ठाउँबाट दवाव दिइरहेका छौँ ।
तपाई सांसद भएका बेल कामै गर्न सक्नु भएन रे ?
म सांसद भएका बेला जति कामहरू गर्यौँ दाङ जिल्लाको निम्ती त्यति मात्रै अहिलेको सांसदहरू या अहिलेको कम्युनिस्ट सरकार र नेताहरूले गरिदिए भने म व्यक्तिगत रुपमा उहाँहरूलाई धन्यावाद दिन्छु ।
राप्ती नदीमा अहिले चार वटा पुल बनिरहेका छन् । सिसहनियाँ, दमाराघाट, सत्बरिया कालीपुर र बनघुस्रीमा पुल बनिरहेको छ । मेरै पहलमा लगेको हुँ । सत सय मिटरको हाराहारीमा पक्की पुल बनेको छ । अर्बौंको बजेट हो । यो सामान्य विषय थिएन । बेला नाकासम्म पक्की सडक बनेको छ । तत्कालीन अवस्थामा मैले व्यक्तिगत पहलमा लगेको साढे १४ करोडको योजना हो । हौवा नाकामा साढे ९ करोड योजना हालेको थिएँ । त्यो बाटो पनि बनेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान जुन अहिले नियतबस विवादित बनाइएको छ । त्यस बेला उपक्षीय अस्पताल घोराहीको रुपमा थियो । त्यो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउनका निम्ती मैले मेरो हातले संसदभित्र बसेर त्यस बेलाका दाङका सांसदहरूको हस्ताक्षर घरघरमा गएर गराएको छु ।
त्यस बेला रामजनम चौधरी स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । रामजनम चौधरीले एउटा राजनीतिक सहमति मागेपछि म आफै दौडिएर प्रत्येक सांसदहरूको घरमा गएर हस्ताक्षर गरेर राजनीतिक सहमति यही हो सांसदहरूको भनेर मैले दिएँ । त्यही सहमतिलाई टेकेर स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाउने प्रक्रिया अगाडि बढायो । त्यो आज राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानको रुपमा बनेको छ । त्यसमा सञ्चालन प्रक्रियामा अवरोध आएको छ । हाम्रो गल्ती थिएन । हामीले सहि उदेश्यका निम्ती राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान बनाएका थियौँ । त्यसलाई मैले उपलब्धिको रुपमा लिएको छु ।
दीपक गिरी सिचाइँ मन्त्री हुँदा मलाई लाग्छ अहिलेसम्म सबैभन्दा ठूलो योजना राप्ती नदीको निम्ती लगेको ढेड अर्बको योजना उहाँले नै राप्ती नदी तटबन्धनको योजना आफ्नो पालामा लगेको योजना हो । के त्यो सामान्य योजना थियो र ? त्यसैले विविध योजनाहरू हामीले देउखुरी विकासको निम्ती लग्यौँ । लमहीमा रहेको स्वास्थ्य चौकीलाई हामीले अस्पतालको रुपमा रुपान्तरण गर्यौँ ।
तत्कालीन रामजनम चौधरीजी स्वास्थ्यमन्त्री हुँदा हामीले मैले व्यक्तिगत पहलमा आग्रह गरेर लमही स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गरेको हुँ । यी त मैले ठूला योजनाहरू भने । बाँकी जनताको सेवा गर्ने कुरा, जनताको पीरमर्का बुझ्ने कुराहरू हामीले नियमित रुपमा जनताकै सम्पर्कमा रहेर गर्यौँ । अहिलेका सांसदहरू यति कुरा गरिदिए पनि मैले व्यक्तिगत रुपमा धन्यावाद दिन्छु । मैले गरे जति काम गरुन् भन्ने मेरो चुनौती हो । हावा कुरा गरेर हुँदैन । परिणाम दिनुपर्छ । हामीले त्यस बेला साढे तीन वर्ष काम गर्यौँ । जति गर्यौँ राम्रो गरेका छौँ ।
यसमा तपाइको मत