जेल हाल्नुपर्ने बिखण्डनकारीलाई कम्युनिस्ट सरकारले स्वागत गर्‍योः भुपेन्द्रजंग शाही

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतसँग गरेको ११ बुँदाको सहमतिप्रति आशंका गर्दै जेलमा थुन्नुपर्ने व्यक्तिलाई फूलमाला लगाएकोमा आपत्ति जनाएका छन् ।

महासचिव शाहीले सीके राउतसँग शुक्रबार भएको सहमतिलाई दुखद् भनेर टिप्पणी गरेका छन् ।

‘बिखण्डनकारी सीके राउतलाई सरकारले कारबाहीको साटो उल्टै सम्मान गर्नु दुखद् विषय हो’, सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै भनेका छन्, ‘देश टुक्र्याउँछु भन्नेलाई फूलमाला लगाएर स्वागत गर्ने होइन जेल पठाउनु पर्छ ।’

‘नेपाललाई विभाजन गर्छु भनेर लागेका सीके राउतलाई सम्मान गरेर विप्लवलाई अपमान गर्नु सरकारको मुर्खता हो’, उनले भनेका छन्, ‘सीके, पिके र केपीभन्दा बरु विप्लव नै ठीक हुन् ।’

तरुण दलका महासचिव शाहीले पनि ११ बुँदामा आशंका गर्दै सीके राउतले धोका दिन सक्ने संकेत गरेका छन् । उनले कम्युनिस्ट सरकारले सीके राउतलाई थुन्नुपर्ने माग राखेका छन् ।

उता, सीके राउतले आफ्नो फेसबुक पेजमा स्वतन्त्र मधेस गठबन्धनको मागअनुसार सरकार जनमत संग्रहमा जान सहमत भएको दाबी गरेका छन् ।

सीके राउत निकटका अनलाइनहरूले पनि बिखण्डनको आन्दोलनको स्वरुप परिवर्तन भएको जनाएका छन् ।

सीके राउत निकट मानिने एकजना पत्रकारले फेसबुकमा लेखेका छन्, ‘ स्कटल्याण्ड, क्याटलोनिया मोडलको राजनीति मधेशमा । कसैले मुद्दा छोडेको छैन, शैली परिवर्तन मात्र हो ।’

राष्ट्रिय सभामा शुक्रबार भएको संयुक्त कार्यक्रममा ११ बुँदे सहमतिको दोस्रो बुँदामा रहेको कुरालाई सीके राउतले जोड दिँदै जनमत संग्रहको कुरा गरेका छन् ।

‘जनमत संग्रह’ शब्दावली सहमति पत्रमा नरहे पनि सीके राउतको भेरिफाइड फेसबुक पेजमा राखिएको कुराले शंका उब्जाइदिएको छ ।

Published : Friday, 2019 March 8, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया