सीके राउतसँगको सम्झौताबारे भीम रावलको गम्भीर खुलासा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले बिखण्डनकारी सीके राउतसँग सरकारले गरेको सम्झौतामाथि विभिन्न आशंकाहरू गरेका छन् ।

सरकार र बिखण्डनकारी सीके राउतबीच शुक्रबार भएको सम्झौतामा देश टुक्र्याउने घोषणाका सामाग्री हटाउने कुनै पनि कुरा नगरिनुले गम्भीर प्रश्न उब्जिएको रावलले बताएका छन् ।

‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ?’, शुक्रबार ट्वीट गर्दै नेकपाका नेता रावलले भनेका छन्, ‘देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा सीके राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ।’

नेकपाका नेता रावलले सीके राउतका गतिविधि देशद्रोही रहेको भन्दै कडा कारबाहीको माग गर्दै आएका छन् । नेकपाभित्र राष्ट्रवादी छवि बनाएका रावलले सीके राउतसँगको सम्झौतालाई चित्त बुझाएका छैनन् ।

रावलले सीके राउतले फेरि पनि देशद्रोही गतिविधि गर्नेप्रति संकेत पनि गरेका छन् । सीके राउतले आफूलाई बैधानिक रुपमा अगाडि बढाउन खोजेको उनको आशंका छ ।

सीके राउतसँग भएको सम्झौताको विरोध गर्नेमा नेकपाका नेताद्वय बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि छन् । गौतम र श्रेष्ठले नेकपाको केन्द्रीय सचिवालयको बैठकमा सीके राउतसँग गर्न लागिएको सम्झौताका बुँदाहरूमा आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेसका नेताहरूले पनि सीके राउतले भने जस्तो जनमत संग्रहप्रति आशंका जनाएका छन् । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीट गरेर जनमत संग्रहका बारेमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।

Published : Friday, 2019 March 8, 8:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया