बेनीमा कम्युनिस्ट अधिनायकविरुद्ध कांग्रेसको भव्य प्रदर्शन, देउवासहितका नेताले दिए साथ

बेनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले निर्मला पन्तको हत्याराहरूलाई संरक्षण गरेको बताएका छन् ।

म्याग्दी जिल्लाको बेनीमा नेपाली कांग्रेसले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देउवाले सरकारकै उच्च व्यक्तिका आफन्तको संलग्नता सार्वजनिक हुने डरले प्रधानमन्त्री ओलीकै निर्देशनमा निर्मला पन्तका हत्यारा, सुनकाण्ड, वाइड बडी विमान खरिद प्रकरणमा संलग्नलाई लुकाउने प्रयास भएको आरोप लगाए ।

‘अपराधीलाई कारबाही गर्नुको साटो लुकाउन खोजिएको छ’, देउवाले भने, ‘आफन्छा मान्छे पर्छन् भनेर ओलीजी डराउनु भएको छ ।’

देउवाले कम्युनिस्ट सरकारले राष्ट्र हित विपरित काम गरिरहेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले कम्युनिस्ट सरकार बनेको एक वर्षमा भ्रष्टाचार संस्थागत भएको बताए । हत्याहिंसाका कारण जनतालाई न्याय र सुरक्षा दिने कुरामा सरकार पूर्णरुपमा असफल भैसकेको बताउँदै देउवाले सरकारप्रतिको विश्वास घट्दा लगानी भित्र्याउन समेत समस्या भएको बताए ।

‘सरकारले बधाई पाउने गरेर एउटा पनि काम गर्न सकेन’, देउवाले भने, ‘एक वर्षमै सरकारले आफ्नो हैसियत देखाइसकेको छ ।’

पार्टीभित्रको विवादलाई अन्त्य गर्दै एक भएर कार्यकर्तालाई सन्देश दिन आफू तयार रहेको सभापति देउवाले बताएका छन् । उनले म्याग्दीबाट एकताको सन्देश दिन तयार रहेको बताउँदै कांग्रेसभित्रको समस्या समाधान गर्दै एकजुट भएर कम्युनिस्टको अत्याचारविरुद्ध लड्ने बताए ।

आन्तरिक लोकतन्त्र संस्थात गर्दै पार्टीभित्रको विवादले कार्यकर्तामा निराशा फैलएको बताए । उनले कांग्रेसभित्रको विवाद अन्त्य गर्न आफू तयार रहेको पनि बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सबै संवैधानिक क्षेत्रमा प्रधानमन्त्री ओलीले हस्तक्षेपकारी नीति लिएको बताए ।

‘प्रधानमन्त्रीले अख्तियारसहितका आयोगहरूको प्रमुखको भूमिका पनि आफ्नै हो जस्तै देख्नुभएको छ’, पौडेलले भने, ‘उहाँले भ्रष्टाचार गरेको छैन भन्दै फैसला गर्दै हिँड्नुभएको छ । उहाँले आफ्ना मान्छेलाई भ्रष्टाचारबाट उन्मुक्ति दिन आफैले सफाइ दिने गर्नुभएको छ । यो संविधान विपरितको कुरा भयो ।’

वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको संलग्नतामै ठूला अनियमितताका काम र काण्ड भएकाले आफै कार्यपालिका र न्यायपालिकाको नेतृत्व गरे जस्तै गरी अभ्यास गरिरहेको बताए ।

हेलिकप्टर दुर्घटनामा परेर निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई वाइड बडी विमान खरिद घोटालामा निर्दोष रहेको अभिव्यक्ति दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको भूमिका प्रस्तुत गरेको भन्दै नेता पौडेलले आक्रोश पोखे । उनले सीके राउतसँगको सम्झौतालाई देशको विरुद्ध भएकाले जनमत संग्रहको नाममा ओलीले मधेसलाई तहसनहस पार्न खोजेको बताए ।

प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका एजेण्डामा ओली सरकार रमाइरहेको बताए । उनले सरकारले समृद्धि नेपालको नाममा खर्बौंको विदेश ऋण लिएर देशर्लाइ अस्तव्यस्त बनाउन लागेको आरोप लगाए ।

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले देश टुक्र्याउँछु भन्दै हिँडेको सीके राउतसँग अँगालो मारेको बताए । उनले भने, ‘कारबाही गर्नुपर्ने व्यक्तिलाई ओलीजीले अँगालो मार्नुभएको छ । सीके राउतको मुद्धालाई पहिचान दिनुभएको छ । यो कुरा अत्यन्तै गलत छ ।’

यसैबीच, कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरू उपस्थित रहेका थिए । कांग्रेसले पार्टी कार्यालय बेनीको संगमचोकमा बनाएको छ ।

नेपाली कांग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको संगम चोकमा ५१ लाख ३७ हजार ७५० रुपियाँमा जग्गा खरिद गरेको थियो । भवन निर्माण गर्न २९ लाख ५९ हजार ४२५ लगानी भएको छ । भवन दुई वर्षमा निमार्ण गरेको थियो ।

त्यसै गरी, नेपाली कांग्रेस म्याग्दीले बेनीमा भव्य प्रदर्शन पनि गरेको छ । कांग्रेसको र्‍यालीले नगरका विभिन्न स्थानको परिक्रमा पनि गरेको थियो । र्‍यालीमा कम्युनिस्ट सरकार विरोध नारा लागेका थिए । कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध कांग्रेसका कार्यकर्ताको आक्रोश थियो ।

र्‍यालीमा गाउँगाउँबाट आएको कांग्रेसका सयौँ नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेस म्याग्दीको सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उदघाटन तथा आम सभालाई सम्बोधन गर्न सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य अर्जुन जोशी, पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरू बेनी आएका थिए ।

        

 

Published : Saturday, 2019 March 9, 9:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया