सभापति देउवाद्धारा कम्युनिस्ट सरकारका कर्तुतहरुको भण्डाफोर

बागलुङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले संवैधानिक समस्या ल्याउने खेलमा लागेको बताएका छन् ।

नेपाली कांग्रेसले आइतबार बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्ष दलबिनाको संवैधानिक परिषद्को बैठक बस्ने, प्रतिपक्षविहीन संसद झै एकाधिकार र निरंकुशतामा लागेको आरोप लगाए ।

देउवाले कम्युनिस्ट सरकार गलत लयमा भएकाले सच्चिएको देख्न चाहेको पनि बताए । उनले उखान टुक्काले देशमा समृद्धि नआउने जिकिर गरेका छन् । सरकारले एक वर्षमा एउटा पनि सम्झन लायक काम नगरेको उनको भनाई छ ।

ओली नेतृत्वको सरकारको विरोधमा खर्चेका देउवाले हिंसा र दण्डहीनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए ।

निर्मला हत्या प्रकरण लगायतका घटनामा सरकार नै अपराधी लुकाउन लागि परेको आरोप लगाउदै उनले संवैधानिक समस्या बल्झाउने खेलमा सरकार लागेको बताए ।

देउवाले चिकित्सा शिक्षा विधेयकलगायत दर्जनौं घटनामा सरकारले संविधान कुल्चेको आरोपसमेत लगाए । ‘हामीले संवैधानिक समस्या नआओस् भनेरै प्रतिकूलतामा तीन तहको निर्वाचन गरायौं’, देउवाले भने, ‘सहज परिस्थिति आएपछि वर्तमान सरकार संविधानका धारा मिचिरहेको छ ।’

देउवाले प्रेस स्वतन्त्रताविरोधी कानुन ल्याउन सरकार सक्रिय भएको आरोप पनि लगाए ।

देउवाले हिंसा र दण्डहीनता मौलाउने गरी सरकार अपराधीको संरक्षणमा लागेको आरोप लगाए । ‘निर्मला हत्याकाण्डसहित धेरै घटनामा अपराधी लुकाउने काम भयो’, देउवाले भने, ‘जनताको आधारभूत आवश्यकता पूरा गर्न नलागेर हावादारी भाषण र उखान भन्दै हिँडेर देश समृद्धिमा जाँदैन ।’ देशव्यापी रुपमा कर बढाएर जनताको ढाड सेकेको भन्दै मूल्यवृद्धि फिर्ता लिन पनि आग्रह गरे ।

सरकारले बारम्बार संविधान कुल्चने प्रयास गरिरहेमा कांग्रेसले सदनबाट सडकमा झर्न सक्ने चेतावनी दिए । देउवाले विरोधका शैलीमा संयम अपनाएर सरकार सच्चियोस् भन्ने चाहेको बताए । कांग्रेसको संयमलाई कमजोरी ठानियो भने सडक संघर्षमा जानुपर्ने उनको टिप्पणी थियो ।

महासमिति बैठकबाट बनेको विधान नेपालका सबै दलभन्दा अब्बल भएको उनले दाबी गरे । सबै जाति, क्षेत्र र भूगोललाई समावेश गरेर पदाधिकारीमा लैजान सकिने, कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने प्रावधान आएको बताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद सीके राउतको पाउ परेको बताए । ‘हामीले एक वर्ष अगाडि चुनाव नहार्नु पर्थ्यो, हारिहाल्यौं’, शर्माले भने, ‘अहिले लाग्छ हामीले चुनाव हारेर ठीकै भयो, केपी ओलीको असली राष्ट्रवादी रुप जनताले देख्न पाएका छन् । ओलीको राष्ट्रवाद अहिले सीके राउतको पाउमा पुगेर लम्पसार परेको छ ।’

महासमिति बैठकबाट बनेको विधान नेपालका सबै दलभन्दा अब्बल भएको उनले दाबी गरे । सबै जाति, क्षेत्र र भूगोललाई समावेश गरेर पदाधिकारीमा लैजान सकिने, कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने प्रावधान आएको बताए ।

बागलुङ बजारमा आयोजित कम्युनिस्ट सरकार विरोधी आमसभामा कांग्रेसका सयौँ कार्यकर्ता जम्मा भएका थिए ।

Published : Sunday, 2019 March 10, 6:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया